‘प्रसाद २’ लफडाः निर्देशक थापा र सम्पादक मिलन विरुद्ध पक्राउ पुर्जी जारी
फिल्म ‘प्रसाद २’को आर्थिक लफडा अझै सकिएको छैन । फिल्मका निर्माता, निर्देशक, सम्पादकदेखि डिजिटल राइट्स खरिद गरेका व्यक्ति समेत यो लफडामा परेका छन् ।
फिल्मका निर्माता सुदर्शन बस्नेतले दिएको उजुरीको आधारमा प्रहरीले यसका निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । दुबै जनाको अहिले खोजी भैरहेको प्रहरीले बताएको छ ।
प्रहरीले निर्माता बस्नेतकै उजुरीको आधारमा ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाललाई पक्राउ गरिसकेको छ ।
के हो लफडा ?
फिल्मको निर्माण समयदेखि नै ‘प्रसाद २’को विवाद चरमचुलीमा छ । यो फिल्मलाई सुरुवातमा सुभाष थापाले निर्माण गर्ने पक्का भएको थियो । उनले फिल्ममा निर्माताको रुपमा केशव पाण्डेलाई इन्ट्री गराए । फिल्मको भव्य कार्यक्रम गर्दै घोषणा समेत भयो । तर, फिल्म निर्माण हुन सकेन । फिल्मको छायांकन सुरु हुने दिनमा नै लफडा भएपछि काम रोकियो । छायांकन स्थलबाटै फिल्मका कलाकारदेखि निर्माता र निर्देशक फर्किए ।
यसपछि, फिल्ममा निर्माताको रुपमा सुदर्शन बस्नेत र ज्याक श्रेष्ठ भित्रिए । सुदर्शनले फिल्मको निर्माणमा केशवले खर्च गरेको रकम समेत तिर्ने गरि निर्माताको रुपमा इन्ट्री गरेका थिए । यसपछि, फिल्मको काम अगाडि बढ्यो । फिल्ममा विपिन कार्की, केकी अधिकारी र अर्पण थापाले मुख्य भूमिकामा काम गरे ।
फिल्म रिलिजको अगाडि लफडा भयो । फिल्मका सुरुवातका निर्माता केशव पाण्डेले दिएको उजुरीको आधारमा उच्च अदालत, पाटनले सुभाष थापालाई पक्राउ पुर्जी जारी गर्यो । थापा त्यसपछि फरार छन् । उनी हाल अष्ट्रेलियामा छन् ।
यता, फिल्म रिलिज भयो । व्यापार औषत मात्र गर्यो । यसपछि पनि लफडा रोकिएन । फिल्मका निर्माता सुदर्शन बस्नेतले आफूलाई नसोधी फिल्मको देश तथा विदेशमा प्रदर्शन गरेर डेढ करोडको आर्थिक क्षती पुर्र्याएको भन्दै फिल्मका निर्देशक सुदर्शन थापा, सम्पादक मिलन श्रेष्ठ र डिजिटल राइट्स खरिद गर्ने कम्पनी ओएसआर डिजिटलविरुद्ध उजुरी दिए ।
उनैले दिएको उजुरीको आधारमा प्रहरीले तिनै जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमध्ये, अग्रवाल पक्राउ परिसकेका छन् भने थापा र श्रेष्ठलाई खोजिरहेको प्रहरीले बताएको छ ।
यी तिनै जना विरुद्ध ‘अपराधिक विश्वासघात’को उजुरी परेको हो । ओएसआर डिजिटलले संझौता गरे अनुसारको रकम निर्मातालाई दिइसकेको छ । तर, अर्का निर्माताले दिएको उजुरीको आधारमा अग्रवाल पक्राउ परेका छन् ।
फिल्म क्षेत्रबाट उनको पक्राउको विरुद्धमा आवाज उठ्न थालिसकेको छ ।
नेपाली फिल्म क्षेत्रमा ‘अपराधिक विश्वासघात’को मुद्दाले डेरा जमाउन थालेको छ । यसअघि निर्माता तथा निर्देशक सुदर्शन थापाले पनि नायक अनमोल केसीलाई फिल्म ‘रावायण’मा काम गर्ने गरि १० लाख रुपैयाँ पेश्की लिएर अन्तिम अवस्थामा नखेलेको भन्दै ‘अपराधिक विश्वासघात’को मुद्दा दायर गरेका थिए ।
प्रतिक्रिया