महायज्ञमा पुगे ‘परदेशी २’का कलाकार


फिल्म ‘परदेशी २’का कलाकार महायज्ञमा पुगेर भक्तजनहरुलाई फिल्मको बारेमा जानकारी दिएका छन् । भक्तपुरको चाँगुनारायण ताथलीमा आयोजना भैरहेको श्रीमद्भावगत महायज्ञमा पुगेर फिल्मका निर्देशक नारायण रायमाझी, कलाकारहरु प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटीले फिल्मको बारेमा जानकारी दिएका हुन् । सुरुवातमा निर्देशक रायमाझीले भक्तजनहरुको अगाडि भजन प्रस्तुत गरेका थिए । यसपछि, गायक सपुतले आफ्ना केही चर्चित गीतहरु गाएका थिए ।

उनले, ‘परदेशी २’ सामाजिक कथामा बनेको भन्दै सबैलाई हेरिदिन आग्रह गरे । नायिका केकी अधिकारीले दशैंको अवसरमा एक सामाजिक कथामा बनेको फिल्म रिलिज हुन लागेको जानकारी दिदै दर्शकको साथ पाउने विश्वास व्यक्त गरिन् । महायज्ञमा उपस्थित झन्डे १५ सय भक्तजनहरुको अगाडि फिल्मको टिमले प्रचार गरेको हो ।

असोजको २६ गतेबाट रिलिज हुन लागेको यो फिल्मले विदेशिनुको पीडा र आमा बाबुको मनमा हुने वेचैनीको कथा भन्छ । राजेश वंशल र नारायण रायमाझीको निर्माणमा तयार भएको फिल्ममा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्ल, रोशनी कार्की लगायतका कलाकारको अभिनय छ ।