प्रचण्डको प्रदर्शकसँग आक्रोश–‘वितरकको पैसा नतिर्न लाज लाग्दैन ?’


फिल्म वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठले प्रदर्शकहरुमाथि आक्रोश पोखेका छन् । हुनत, यस्तो आक्रोश प्रचण्डको मात्र होइन, थुप्रै निर्माता र वितरकको पनि सुनिदै आएको हो । 

फिल्म चलेको बर्षौ दिनसम्म पनि निर्माताले पैसा नपाएको गुनासो बारम्बार सुनिने गरिन्छ । निर्माताको प्रदर्शकसँग कुनै पनि खालको संझौता हुँदैन । हलमा फिल्म रिलिज गर्ने बिषयमा वितरकले नै प्रदर्शकसँग कुरा गर्नुपर्ने हुन्छ । निर्माताले पनि हलबाट आएको शेयर रकम वितरकबाट लिनु पर्दछ । 

तर, प्रदर्शकहरुले फिल्म चलेको बर्षौ दिनसम्म पनि रकम नदिदा वितरक र निर्माता मर्कामा पर्ने गरेका छन् । नगदमा व्यापार हुने फिल्मको पैसा पनि प्रदर्शकले बर्षौ झुलाइदिदा करोड बढी रकम लगानी गरेका निर्माता समस्यामा पर्ने गर्दछन् । 

यसैले, सामाजिक संजालबाट प्रचण्डले प्रदर्शकसँग आक्रोश पोखेका हुन् । उनले लेखेका छन्–‘प्रदर्शक साथीहरु जोसँग सम्बन्धित छ । नगदमा व्यापार गरिन् फिल्म चलेर महिनौ बर्षौ बित्दा पनि वितरकको पैसा नतिर्न लाज लाग्दैन ? तिमीहरुको सार्वजनिक बेइज्जती गरि कानूनी र प्रशासनिक प्रक्रियामा लाग्नुपर्ने हो ?’

प्रचण्डको स्टाटसबाट उनले प्रदर्शकबाट फिल्मको रकम नपाएको प्रष्ट हुन्छ । तर, उनले कुनै प्रदर्शकको नाम भने उल्लेख गरेका छैनन् ।