अनमोल केसीको आग्रहः सुदर्शन र सुप्रियाजीलाई गाली नगरिदिनुहोला’
नायक अनमोल केसीले फिल्म ‘रावायण’का निर्देशक सुदर्शन थापा र निर्मात्री सुप्रिया कटुवाललाई गाली नगरिदिन सबैसँग आग्रह गरेका छन् ।
फिल्म ‘रावायण’को विवाद जिल्ला अदालत काठमाडौंमा पुगिसकेको छ । अनमोल निर्मात्री सुप्रिया कटुवालले दिएको उजुरीको आधारमा २ दिन प्रहरीको नियन्त्रणमा रहेर रिहा भैसकेका छन् । यो मुद्दा अझै पनि सकिएको छैन ।
तर, रिहा भएको केही दिनपछि मेरो फिल्मसँग कुरा गर्दै अनमोलले सामाजिक संजालमा सुदर्शन र सुप्रियालाई गाली गलौज नगर्न आग्रह गरेका हुन् । उनले भने–‘मलाई सुदर्शन र सुप्रियाजीसँग कुनै गुनासो छैन । म उहाँहरुलाई आजका दिनमा पनि नराम्रो सोच्दिनँ । उहाँहरुप्रतिको मेरो सम्मान आज पनि उस्तै छ ।’
उनले, सुदर्शन र सुप्रियाको बारेमा सामाजिक संजालमा गाली गलौज भैरहँदा आफूलाई दुःख लागेको पनि बताए । उनले अगाडि भने–‘कुनै पनि फिल्ममा काम गर्न वातावरण पनि सकारात्मक हुनुपर्छ भन्ने मलाई लाग्छ । मैले फिल्म साइन नगर्नुको कारण पनि तयारी पूर्ण रुपमा होस् भन्ने नै थियो । तर, यसमा सुदर्शनजी र मेरो कुरा मिलेन । यसैले, काम गर्न गाह्रो भयो ।’
अनमोलले, फिल्मका लागि आफूले केही महिनाको समय लिन चाहेको दोहोर्याए । उनले मेरो फिल्मसँग भने–‘म बर्षमा १२ वटा फिल्म गरेर राम्रो पैसा कमाउन सक्छु । तर, मलाई यसरी काम गर्ने मन कहिले पनि भएन । म कुनै पनि प्रोजेक्टमा जोडिएपछि त्यसलाई उत्कृष्ट कसरी बनाउनुपर्छ भन्ने सोचमा लाग्छु । अझ, छड्के २ ले त मलाई धेरै पाठ सिकाएको पनि छ । यसैले, यसपटक पनि तयारी गरेर आफूलाई भूमिका अनुसार ढाल्न खोजेको थिएँ । यही कुरामा हाम्रो विचार मिलेन ।’
प्रतिक्रिया