सय बसमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को पोष्टर टाँसेर प्रचार


कार्तिकको ४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ चर्चामा छ । यो फिल्मले बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा आम फिल्मीकर्मीको छ ।

यसैबिच, यो फिल्मको टिमले काठमाडौं महानगरपालिकामा चल्ने सय बसमा पोष्टर टाँसेर आक्रामक प्रचारलाई अगाडि बढाएको छ । फिल्मका होर्डिङ बोर्डहरु पनि विभिन्न ठाउँमा देख्न सकिन्छ । तर, महानगर भित्र पोष्टर टाँस्न नपाइने नियम मेयर बालेन शाहले ल्याएका छन् ।

यसैले, फिल्मको टिमले अब ग्राउन्ड जिरो प्रचारलाई अगाडि बढाएको छ । सार्वजनिक बसमा पोष्टर टाँस्दा सोझै फिल्मका दर्शकमाझ जानकारी पुग्ने विश्वास निर्माण टिमको छ । ‘बस पब्लिसिटी’ नाम दिइएको यो प्रचारमा सय बढी बसहरु फिल्मको पोष्टरले रंगिएका छन् ।

सार्वजनिक यातायातको प्रचार सडकका भित्तामा टाँसिने प्रचार भन्दा बढी महंगो भएपनि प्रभावकारी पनि हुने विश्वास निर्देशक दीपेन्द्र के खनालको छ । फिल्मका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पनि यस्तो प्रचारले वास्तविक दर्शकसमक्ष फिल्मको बारेमा जानकारी पुग्ने विश्वास गरे । निर्देशक खनालले अब केही दिनमा नै फिल्मको ट्रेलर सार्वजनिक हुने बताए । 

यो फिल्मले पशुपति क्षेत्रमा पशुपति प्रसादको निधनपछि आफ्नो अस्तित्व स्थापित गर्नका लागि संघर्ष गरिरहेको भष्मे डनको कथालाई  उठाएको छ । फिल्ममा विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, स्वस्तिमा खड्का, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतका कलाकारको अभिनय छ ।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्धाथको संगीत छ ।