के ‘दिमाग खराब’ सुपुष्पाको कमब्याक फिल्म हो ?


फिल्म ‘चपली हाइट ३’मा काम गरेपछि नायिका सुपुष्पा भट्टले निर्माता रौनक विक्रम कँडेलसँग काम गरिन् । वैवाहिक जीवनमा बाधिएपछि सुपुष्पाले अरु फिल्ममा काम गरेकी छैनन् । 

उनै, सुपुष्पाले आफ्नै श्रीमान् कडेलले बनाएको फिल्म ‘दिमाग खराब’को एउटा गीतमा नृत्य गरिन् । फिल्मको प्रमोशन गीतमा देखिएकी सुपुष्पा यो फिल्मलाई आफ्नो कमब्याक फिल्म बताउँछिन् । उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भनिन्–‘धेरै समयपछि मिडियाको अगाडि उभिन पाउँदा खुशी लागेको छ । मैले केही समयपछि फिल्ममा काम गरेकी छु । यो फिल्मबाट कमब्याक गर्न पाउँदा उत्साहित छु ।’

सुपुष्पाले आफूलाई निश्चल बस्नेतको फिल्ममा काम गर्न मन लागेको पनि बताइन् । सुपुष्पाले फिल्म क्षेत्रमा धेरै फिल्ममा काम गरेकी छैनन् । उनले, ‘छ माया छपक्कै, रणवीर र चपली हाइट ३’मा मात्र काम गरेकी हुन् । 

तर, सुपुष्पाले भने जस्तै ‘दिमाग खराब’ उनको कमब्याक फिल्म भने होइन । किनकी, उनी फिल्मको एउटा प्रमोशनल गीतमा मात्र देखिएकी छन् । जुन, फिल्ममा समावेश हुन्छ या हुदैन भन्ने पनि पक्का छैन । यसैले, फिल्ममा सुपुष्पाको कमब्याकका लागि दर्शकले अझै केही समय प्रतिक्षा गर्नुपर्ने हुन्छ ।