दीपकराज र निश्चलको सहकार्य किन भएन ?


निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘दिमाग खराब’ कार्तिकको २४ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा निश्चलले अहिलेको समयमा चलेका नायकहरु दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछानेलाई लिएर काम गरेका छन् । यो फिल्मका लागि सुरुवातमा कलाकार दीपकराज गिरी र उनको टिमसँग कुरा भएको हो । तर, अन्तिम समयमा दीपकराजसँग निश्चलको कुरा मिलेन । 

यो बिषयमा कुरा गर्दै निश्चलले दुबै जनाको बिचार नमिलेकाले काम नगरेको बताएका छन् । उनले, पछि नराम्रो हुनु भन्दा सुरुवातमै अलग हुँदा राम्रो हुने देखेर नै आफूहरु अलग भएको बताए । 

उनले भने–‘दीपकराज दाई आफ्नो सोच थियो । मेरो आफ्नो सोच थियो । दुबैको सोच मिलेन । यसैले, काम नगर्ने निर्णयमा पुग्यौं ।’

निश्चलले यो फिल्मले कुनै पनि राजनीतिक पार्टीप्रति ढल्किएर कथा नबन्ने सुनाए । उनले, जनता र नेताबिचको कथा फिल्ममा देखाइएको सुनाए । 

अर्को एक प्रसंगमा निश्चलले ‘टाइगर ३’ रिलिज हुँदा आफूहरुलाई असर नपर्ने सुनाए । उनले भने–‘अहिलेसम्म प्रदर्शकहरुसँग राम्रो कुरा भएको छ । दुबै फिल्मलाई सुरुवातमा बराबर शो नै बाँडफाँड हुन्छ होला भन्ने लागेको छ । पछि त फिल्मले गर्ने व्यापारको आधारमा शो घटबढ हुने हो ।’