छ वर्षपछि परिक्षा दिँदै निश्चल

करिब ११ वर्ष अघिको फिल्मी बजारलाई नियाल्दा जे जति फिल्म बनेका थिए, ती फिल्महरु व्यावसायिक रुपमा असफल बनेर निर्माताको करोडौं रकम डुबेपछि फिल्मवृत्तमा ‘फिल्म संकटकाल’ लगाउनुपर्ने आवाज उठ्न थालिसकेको थियो । त्यही बेला निश्चल बस्नेतले फिल्म ‘लुट’ बनाएर नेपाली फिल्म बजारमा मेकिङको शैली फेर्दै संकटकाल लगाउनुपर्ने अवस्थालाई तत्कालका टारिदिएका थिए ।

निश्चलले त्यसबेलाको गरेको यो काम आजसम्म पनि फिल्मवृत्तमा सबैमा सम्झना छ । उनी सन् २००९ बाट फिल्म क्षेत्रमा प्रवेश गर्दै सन् २०१३ मा ‘लुट’को निर्देशक भएर फिल्म क्षेत्रमा सफल भएका थिए । ‘लुट’ नेपाली दर्शकमाझ निकै प्रख्यात भएको थियो । यसपछि, उनलाई ‘टलकजंग भर्सेस टुल्के र लुट २’ बनाउन केही समय लाग्यो । तर, यी दुवै फिल्मबाट उनले ‘लुट’को सफलता भने दोहोर्याउन सकेनन् । 

उनले फिल्म ‘लुट २’ निर्देशन गरेपछि पछुताएको बताउँदै आएपछि निर्देशनमा हात हाल्ने आँट गरेका थिएनन् । यही बीचमा निश्चल निर्देशन गर्न छाडेर अभिनय तिर लागेका थिए । उनले थुप्रै फिल्म देखि म्युजिक भिडियोसम्मको अभिनयमा आफूलाई व्यस्त बनाए । यो समयक्रममा निश्चललाई निर्देशन गर्ने आँट आउन करिब ६ वर्ष लाग्यो । 

उनी ६ वर्षको अन्तराल पछि निर्देशनमा फर्किदा हरेक मानिसको दिनहुँ जसो लागु हुने शब्द दिमाग खराबलाई फिल्मको नाम दिँदै निर्देशनमा पुनरागमन गरे ।

अब, यहाँ प्रश्न उठ्छ कि निश्चल कलाकारका रुपमा ठिक कि निर्देशकका रुपमा ? यदि, नेपाली फिल्म हेर्ने दर्शक निश्चलको फ्यान छन् भने उनको निर्देशनबाट हो । तर निर्देशनबाट उनी पन्छिदै गइरहेको अवस्था जस्तो थियो । अब अहिलेको स्थितिलाई हेर्दा निश्चलले त्यो परिक्षा दिएर नै चिर्नु पर्ने देखिएको छ । फिल्म निर्देशन गर्दा सम्पूर्ण बोझ आफ्नै टाउकोमा बोक्नुपर्ने हैरानी हुन्छ । 

निश्चलले यो समय आफू बढी नै उत्साहित भन्दा पनि कतिको बनाउन सकियो त ? भन्ने प्रश्न आफैलाई गरेको बताउछन् ।

‘यो फिल्म पूर्ण मनोरञ्जनात्मक बनाएका छौं । यसलाई तपाईँहरूले सार्वजनिक भएको टिजर हेरेर फिल्म राजनीतिक रहेको छ भन्ने आंकलन गर्नु भएको होला । यसमा मेरो कुनै एजेण्डा भन्दा पनि तपाईं कतातिर झुक्ने मान्छे हो भन्ने हुन्छ । यसमा अलिक राजनीतिक प्रश्न जस्तो देखिए पनि त्यो प्रश्न म भित्र छँदा पनि छैन’, निश्चल भन्छन्,  ‘यो एउटा सोसल ड्रामा फिल्म छ । यो फिल्म हेर्दा खेरी हामीले फिल्ममा के सन्देश होला, के उतारचढाव हुन्छ, फिल्मको नम्स त्र बसेर हेर्दा एउटा रमाइलो फिल्म कसरी बनाउन सक्छौं भन्ने छलफल गरेर अघि बढाएको हो ।’

निश्चलले दिमाग खराब एक साधारण मान्छेको कथा भएको बताए । ‘त्यो साधारण मान्छेको कथा हो, जसलाई आफ्नो जिवनमा केही गर्नु छ । उसको सपना धेरै ठुलो छैन । आफ्नो परिवार कसरी पाल्ने जस्ता सानो सानो सपना उसमा छ ।  त्यो मान्छे कसरी विभिन्न घटनाक्रमहरुबाट ठोकिदै ठोकिदै कहाँसम्म पुग्छ र उसले चाहेको कुराहरु पुग्छ कि पुग्दैन भन्ने कुरा दिमाग खराबले प्रस्तुत गरेको छ,’ उनले भने ।

निश्चनले व्यक्ति, परिवार, राज्यसँग एउटा साधारण मानिसको आशा रहने उल्लेख गर्दै त्यही प्रश्न आफ्नो टाउकोमा घुमिरहँदा त्यसको उत्तर दिन दिमाग खराब भएको बताए ।  ‘राज्य भित्र बसिसकेपछि राम्रो कुरा र नराम्रो कुरा पनि भइ रहेको हुन्छ । हामी फिल्म मेकर भएर के देख्छौ र के देखाउन चाँही रहेका हुन्छौं मात्रै हो जस्तो लाग्छ । त्सतो दायाँ बायाँ केही छैन’, निश्चलले भने, ‘हामी घोडा जस्तो सिधा दौडिरहेका छौ । फिल्ममा दिन रात नभनी काम गरेका छौ । फिल्म हामीलाई मात्र मन परेर हुदैन, पहिलो कुरा त दर्शकलाई पनि मनपर्नु पर्यो ।