अनमोलले फिर्ता गरे ‘रावायण’का निर्माताबाट लिएको १० लाख
नायक अनमोल केसीले सुदर्शन फिल्मस्बाट निर्माण हुन लागेको फिल्म ‘रावयण’मा काम गर्नका लागि लिएको १० लाख पेश्की रकम फिर्ता गरेका छन् । आज उनले फिल्मकमी निर्मात्री चन्द्रकला कटुवालको सिद्धार्थ बैंकमा रहेको खातामा १० लाख रुपैयाँको चेक डिपोजिट गरेका हुन् । अनमोलले भोली मंगलबार पैसा चन्द्रकलाको खातामा जम्मा हुने गरि चेक डिपोजिट गरिदिएका छन् ।
अनमोलका सहयोगी निराजन गिरीले चन्द्रकलाको नाममा बैंकमा रकम डिपोजिट गरिदिएको भौचर मेरो फिल्मलाई प्राप्त भएको छ ।
अनमोलले फिल्म ‘रावायण’मा काम गर्ने मौखिक सहमती दिएपनि लिखित सहमती भने गरिसकेका थिएनन् । तर, काम गर्ने क्रममा अनमोल र फिल्मको निर्माण टिमबिच असमझदारी बढेको थियो । यसपछि भने अनमोलले फिल्मको छायांकनको समय केही पछि सार्न निर्माणपक्षलाई आग्रह गरेका थिए । प्रहरीमा दिएको बयानमा पनि अनमोलले ‘आफूले फिल्ममा काम गर्दिनँ नभनेको तर केही समय मागेको’ बताएका छन् ।
अनमोललाई चन्द्रकला कटुवालले दिएको उजुरीको आधारमा प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । तर, आइतबार प्रहरीले अनमोललाई आफन्त र चलचित्र निर्माता संघका महासचिव सुनिलकुमार थापाको रोहबरमा छाडेको थियो ।
प्रतिक्रिया