राज कटुवालः जो हिरो बन्न छाडेर निर्माता बने

छायांकन भइरहेको फिल्म ‘मायाबी’का निर्माता हुन् राज कटुवाल । राज यो फिल्मको छायांकन सुरु भएपछि निर्माताको रुपमा जोडिएका थिए । 

उसो त, राज आफै नायक पनि हुन् । उनले केही फिल्ममा नायकको रुपमा अभिनय गरेका छन् । उनको ‘मेसो मिलाएर’ बोलको म्युजिक भिडियो पनि सुपरहिट भइसकेको छ । तर, यसपटक उनले फिल्ममा पल शाहलाई अभिनय गराउँदै आफू भने निर्माताको रुपमा काम गरिरहेका छन् । 

राजले फिल्म ‘राजा’ बनाउने तयारी समेत गरेका छन् । यो फिल्मका लागि उनले केही महिनादेखि शरीर समेत बनाइरहेका छन् । यो फिल्मलाई पनि दिवाकर भट्टराईले नै निर्देशन गर्दैछन् । यसपटक, दिवाकरको होम प्रोडक्शनमा निर्माता बनेका राज यसपछि भने आफ्नै होम प्रोडक्शनको फिल्ममा नायकको रुपमा देखिदैछन् । 

राज कटुवाल आज आफ्नो जन्मदिन मनाउँदैछन् । फिल्म ‘मायाबी’को सेटमा नै उनले जन्मदिन मनाउन लागेको बुझिएको छ । 

नेपाली फिल्म क्षेत्रमा अनवरत रुपमा लागिरहेका राज कटुवालले करिअरलाई विस्तारै अगाडि बढाउने र दर्शकको मनमा बस्ने सोच आफ्नो रहेको बताउँछन् । राजलाई ‘मायाबी’ सफल भएको खण्डमा निर्माताको रुपमा स्थापित हुन समेत सहज हुनेछ । 

आज आफ्नो जन्मदिन मनाउँदै गरेका राजलाई धेरै धेरै शुभकामना ।