रिहा हुँदै अनमोल केसी

नायक अनमोल केसीलाई प्रहरीले हिरासतमुक्त गर्ने तयारी गरेको छ । उनलाई आइतबार राती नै छाड्ने तयारी भएको श्रोतले मेरो फिल्मलाई जानकारी दियो ।

जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले छाड्न लागिएको प्रहरीले बताएको छ । अनमोललाई अहिले राती सवा दश बजे रिहा गर्ने प्रहरीले तयारी गरेको छ । यो घटनाको बिषयमा कोहीसँग पनि सल्लाह गर्न नपाइने, सोझै घर गएर आराम गर्नुपर्ने सर्तमा छाड्न लागेको हो । 

प्रहरीले ३ वटा कारण भएको खण्डमा मात्र हिरासतमा राख्ने गर्दछ । तर, अनमोलले अर्को अपराध गर्न सक्ने, प्रमाण मेटाउन सक्ने र फरार हुन सक्ने कुनै पनि संभावना नदेखिएकाले प्रहरीले उनलाई छाड्न लागेको हो । 

काठमाडौं परिसर स्रोतले भन्यो, 'हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेको र अस्पतालले डिस्चार्ज नगरेको भन्दै हाजिर जमानीमा छाड्ने तयारी भएको छ ।'

अनमोल भोली बिहान जिल्ला अदालत, काठमाडौंमा उपस्थित हुनु पर्नेछ । फिल्म ‘रावायण’मा काम गर्छु भनेर नगरेको भन्दै निर्मात्री सुप्रिया कटुवालले अनमोल विरुद्ध ‘अपराधिक विश्वासघात’को मुद्दा दायर गरेकी थिइन् । सुप्रियाले दिएको उजुरीका आधारमा अनमोललाई प्रहरीले शुक्रबार बेलुकी काभ्रेको साँगाबाट पक्राउ गरेको थियो । 

अनमोल पक्राउ परे लगतै बिरामी भएपछि शुक्रबार र शनिबार उनलाई चिरायू अस्पतालमा राखिएको थियो । उनलाई आज अस्पतालबाटै बयानका लागि प्रहरी परिसर, टेकुमा लगिएको थियो ।