अनमोललाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

नायक अनमोल केसीलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अनमोललाई आज महानगरीय प्रहरी परिसर टेकुमा करिब ३ घण्टा लामो बयान पछि सरकारी वकिल कार्यालय लगिएको थियो । त्यसपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतले अनमोललाई पक्राउ गरेकै दिन गन्तीबाट म्याद थप गरेको हो । दाहालले हिरासत अवधि अनमोललाई पक्राउ परेको दिन शुक्रबारदेखि कै गणना हुने जानकारी दिए ।

शुक्रबार पक्राउ परेका अनमोललाई भोलि अदालतमा उपस्थित गराउनु भनिएको छ । भोलि हुने फैसलाले अनमोल छुट्छन् या अझ म्याद थप गरिने हो भन्ने कुराको निर्णय हुने छ ।  

एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि ‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए ।

आपराधिक विश्वासघातको आरोपमा शुक्रबार दिउँसो साँगाबाट पक्राउ परेका अनमोललाई म्याद थप गर्न लैजान अघि टेकुस्थित प्रहरी परिसरमा प्रहरीले सोधपुछ गरेको थियो ।

 अनमोलले प्रहरीसँगको सोधपुछका क्रममा आफूले लिएको पैसा फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले पैसा फिर्ता लिन नमानेको बयान दिएका छन् । 

‘फिल्मको स्क्रिप्ट मन नपरेपछि फिल्म खेल्न अस्वीकार गरेको हुँ । फिल्म खेल्न अस्वीकार गरेपछि मैले पैसा फिर्ता लैजानुस् भनेको हो तर आफूले लिएको १० लाख रुपैयाँ फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले लिएनन्’, अनमोल केसीको भनाइलाई उदृत गर्दै एक प्रहरीले भने ।

शुक्रबार नै केसी चिरायु अस्पताल भर्ना भएका थिए । पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो ।