अनमोलको बयान–निर्माताले पैसा फिर्ता लिन मानेनन्
अभिनेता अनमोल केसीलाई प्रहरीले म्याद थप गर्न सरकारी वकिल कार्यालयबाट काठमाडौं जिल्ला अदालतमा लगिएको छ । उनलाई म्याद थप गर्न लैजान अघि टेकुस्थित प्रहरी परिसरमा प्रहरीले सोधपुछ गरेको थियो ।
‘आपराधिक विश्वासघात’ को अभियोगमा पक्राउ परेका अनमोलले प्रहरीसँगको सोधपुछका क्रममा आफूले लिएको पैसा फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले पैसा फिर्ता लिन नमानेको बयान दिएका छन् ।
‘फिल्मको स्क्रिप्ट मन नपरेपछि फिल्म खेल्न अस्वीकार गरेको हुँ । फिल्म खेल्न अस्वीकार गरेपछि मैले पैसा फिर्ता लैजानुस् भनेको हो तर आफूले लिएको १० लाख रुपैयाँ फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले लिएनन्’, अनमोल केसीको भनाइलाई उदृत गर्दै एक प्रहरीले भने ।
आपराधिक विश्वासघातको आरोपमा उनलाई शुक्रबार दिउँसो साँगाबाट पक्राउ गरिएको थियो ।
एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि ‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए ।
शुक्रबार नै केसी चिरायु अस्पताल भर्ना भएका थिए । पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया