टेकुमा अनमोलको ३ घण्टा बयान, सरकारी वकिल कार्यालय लगियो

गत शुक्रबार अपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई अहिले सरकारी वकिल कार्यालय लगिएको छ । आइतबार महानगरीय प्रहरी परिसर टेकुमा करिब ३ घण्टा लामो बयान पछि उनलाई सरकारी वकिल कार्यालय लगिएको हो । 

अनमोललाई प्रहरीले काभ्रेको साँगाबाट पक्राउ गरेको थियो । अनमोलले फिल्म ‘रावायण’मा काम गर्ने पक्का गरेर अन्तिम अवस्थामा काम नगर्ने बताएका थिए । जसकाकारण, फिल्मका निर्देशक सुदर्शन थापा र उनको निर्माण कम्पनीले ‘अपराधिक विश्वासघात’को मुद्दा दायर गरेको थियो ।

सोही उजुरीको आधारमा एसपी मिलन केसीको नेतृत्वको टिमले अनमोललाई पक्राउ गरेको हो । निर्देशक थापा र उनको ब्यानरले अनमोलका कारण ठूलो आर्थिक तथा अन्य क्षती भएको भन्दै चार दिन अघि अपराध अनुसन्धान विभाग, नयाँ बाँनेश्वरमा जाहेरी दर्खास्त दिएको थियो । निर्मात्री सुप्रिया कटुवालले जाहेरी दर्खास्त दिएकी थिइन् ।

अनमोलले केही दिन अगाडि मात्र कसैको दबाबमा आफूले फिल्ममा काम नगर्ने भन्दै स्टाटस लेखेका थिए । अनमोलले बिहिबार मात्र कालिञ्चोकको तस्वीर स्टोरीमा अपलोड गरेका थिए । उनी कालिञ्चोकबाट काठमाडौं फर्कदै गर्दा काभ्रेको साँगाबाट पक्राउ परेका हुन् ।