बाग्लुङमा ‘परदेशी २’को प्रिमियर
असोजको २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘परदेशी २’को बाग्लुङमा प्रिमियर गरिएको छ । बीएसआर मुभिजमा आयोजित प्रिमियरमा फिल्मका कलाकार, पत्रकार तथा दर्शकको बाक्लो उपस्थिती थियो । प्रिमियरमा फिल्मका मुख्य कलाकारहरु प्रकाश सपुत, केकी अधिकारी र निर्माता तथा निर्देशक नारायण रायमाझीको उपस्थिती थियो ।
प्रिमियरअघि फिल्मको टिमलाई स्थानीय लोकतान्त्रिक चोकमा बाग्लुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, नगर उपप्रमुख राजु खड्का लगायतका जनप्रतिनिधिले पुष्पगुच्छाले स्वागत गरेका थिए । प्रिमियरमा सहभागी भएका मेयर श्रेष्ठले बाग्लुङमा फिल्मको प्रिमियरमा आयोजना हुनुले नगरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बाग्लुङ कलाकार सपुतको गृह जिल्ला भएकाले पनि प्रिमियर गरिएको हो । फिल्म हेरेर हलबाट निस्कदै गर्दा दर्शकका आँखा रसाएका थिए । फिल्म हेरेका अधिकांशले बर्तमान समयको कथा फिल्मले बोलेको बताए । कलाकार सपुतले आफ्नो पहिलो फिल्म आफ्नै गृह जिल्लामा पहिलो शो गरेको भन्दै निर्माणपक्षलाई धन्यवाद दिए ।
राजेश वंशलको समेत लगानी रहेको फिल्ममा रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की, वर्षा सिवाकोटी लगायतका कलाकारको पनि अभिनय छ । रमेश वीजीको कथा रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको एक्सन, रामजी लामिछाने र गोविन्द राइको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ ।
प्रतिक्रिया