अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आदेश'
अभिनेता अनमोल केसी आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका छन् । अनमोललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज भक्तपुरको साँगाबाट पक्राउ गरेको हो ।
उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ। यता अनमोलले पक्राउ पर्नुभन्दा दुई अगाडि नै उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश लिएको पाइएको छ । उनले दुई दिनअघि नै उच्च अदालतबाट असोज १० गते (बुधबार) पक्राउ नगर्न जारी निषेधाज्ञाको अन्तरिम आदेश आदेश लिएको खुलेको हो ।
उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेलको इजलासले गरेको आदेशमा भनिएको छ, ‘देवानी लेनदेन वा देवानी दायित्वका विषयमा प्रहरीको क्षेत्राधिकार नहुने भएकाले प्रचलित कानुन बमोजिम फौजदारी कसूरमा अनुसन्धान गर्दा बाधा नपर्ने गरी देवानी दायित्वका विषयमा यी निवेदकलाई प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’
साथै आदेशमा जिल्ला प्रहरी परिसर, टेकुलाई विपक्षी बनाइएको छ भने विपक्षीहरूलाई आदेशको जानकारी दिनू समेत भनिएको छ । तर, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले अनमोललाई देवानी प्रकृतिमा नभइ आपराधिक विश्वासघातमा परेको जाहेरीका आधारमा पक्राउ गरेको बताएका छन् । यो फौजदारी मुद्दा रहेको र यसमा पक्राउ गर्न प्रहरीलाई समस्या नहुने उनको दाबी छ । उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको बताए।
‘रावायण’ फिल्मका लागि निर्माता सुप्रिया कटुवालबाट १० लाख रूपैयाँ लिएर काम नगरेर ठगी गरेको भन्दै उजुरी परेको थियो । सोही उजुरीका सम्बन्धमा प्रहरीले बोलाउँदा पनि उपस्थित नभएपछि पक्राउ पुर्जी लिएरै साँगाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
निर्माताले प्राविधिकहरूलाई एक करोड दिइसकेको र अनमोललाई १० लाख दिए पनि सुटिङ नगरेको हुँदा आफ्नो पैसा फसेको भन्दै प्रहरीमा उजुरी परेको र निर्मातालाई प्राविधिकहरूले पैसा फिर्ता गर्न नसकिने भनेपछि निर्मातालगायत ६५ जनाको जाहेरीमा अनमोललाई पक्राउ गरिएको राठौरले जनाए ।
अनमोलमाथि आपराधिक विश्वासघातमा मुद्दा चलाउने तयारी छ । अहिले टेकुस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंको नियन्त्रणमा रहेकाले कम्तिमा दुई दिनमा हिरासतमा बस्नुपर्ने देखिन्छ । उनलाई शनिबार विदा हुने भएकाले आइतबार अनुसन्धानका लागि म्याद लिन अदालतमा उपस्थित गराउने तयारीमा प्रहरी रहेको छ ।
कानूनी व्यवस्थाअनुसार कुनै आरोपी पक्राउ परेको अवस्थामा २४ घण्टाभित्र अदालतमा पेश गरेर अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्ने अनुमति लिनुपर्छ। तर, सार्वजनिक बिदा भएको अवस्थामा अदालत खोलेपछि पेश गरिन्छ। अदालतले म्याद थपका लागि अनुमति दिए अनमोलको हिरासत बसाई थप लम्बिनेछ ।
यता, निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा केसीविरुद्ध उजुरी दिँदा कम्पनीको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उजुरीकर्ताले अनमोलसँग फिल्ममा अभिनय गर्ने सम्झौता पत्र भने बुझाएका छैनन्। तर, अनमोलले फिल्म निर्माण टिमसम्म १० लाख लिएको प्रमाण भने पेश गरेका छन्। सो रकम उनले फिल्म खेल्न राजी भएर पेश्की स्वरूप लिएको निर्माण पक्षको दाबी छ।
प्रतिक्रिया