जो चले, टिमवर्कले चले
अहिले फिल्म बनाउने अधिकांश मेकर निराश छन् । किनकी, निर्माण भएका अधिकांश फिल्मले बक्स अफिसमा पानी पनि भन्न पाएका छैनन् । अनी, जति फिल्म चलेका छन् , ती सबै केही बर्षदेखि निरन्तर रुपमा चलिरहेका कलाकार र टिमकै हो । उसो भए, अरुले किन फिल्म बनाउने त ?
यो बर्षको भदौ महिनासम्म, जम्मा २ वटा फिल्म चले । एउटा ‘जारी’, अर्को ‘नाङ्गो गाउँ’ । यी दुबै फिल्म नायक दयाहाङ राई र मिरुना मगरको हो । उसो भए, दया र मिरुनाविना अरु नचल्ने नै हुन् त ? यसो पनि होइन ।
तर, फिल्म क्षेत्रमा पछिल्ला केही बर्षयता देखिएको ट्रेन्डलाई हेर्ने हो भने, यहाँ कुनै एक व्यक्ति चलिरहेका छैनन् । यहाँ, टिम चलेको छ । टिमवर्क चलेको छ । जसले, टिम बनाएर फिल्ममा काम गरेको छ, उही चलेको छ ।
रामबाबु गुरुङ, दयाहाङ राई, उपेन्द्र सुब्बाको टिमले बक्स अफिस कब्जा गरेको छ । किनकी, यो टिमलाई दर्शकले पनि विश्वास गरिसकेको अवस्था हो ।
टिमकै कुरा गर्दा, दीपकराज गिरी, केदार घिमिरे र दीपाश्री निरौलाको टिम चलेको छ । यी तिन जना निरन्तर रुपमा फिल्म बनाइरहेका छन् र चलिरहेका छन् । यो टिममा कहिले कोही भित्रिन्छन् त कहिले कोही बाहिरिएका छन् । तर, दीपक, दीपा र केदारको सहकार्य टुटेको छैन । यसैले त, बक्स अफिसमा उनीहरु बम्पर छन् ।
चलेका अर्का निर्देशक हुन्, प्रदीप भट्टराई । तर, उनी एक्लैले चलेका होइनन् । उनीसँग रविन्द्र सिंह बानियाँ र म्याक्स दीपेश खत्रीको टिम छ । यी तिन जनाको टिमलाई दर्शकले पत्याएका छन् ।
दर्शकले, नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाको टिमवर्कलाई पनि विश्वास गरेका थिए । तर, जब उनीहरु अलग अलग रुपमा फिल्ममा काम गर्न थालेका छन्, यसपछि समस्या सुरु भएको छ । पूजा र सुदर्शनको संयुक्त व्यानरमा निर्माण भएका फिल्मलाई दर्शकले माया दिइरहेका छन् ।
दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीको क्रेज किन अहिले बढेको होला ? यसको पछाडि, उनीहरुले समातेको टिम हो । किनकी, यी तिनै जनालाई दीपेन्द्र के खनाल, रामबाबु गुरुङ, निश्चल बस्नेत, दीपेन्द्र लामा जस्ता निर्देशकले कुनै न कुनै फिल्ममा समातेका छन् । जसलाई दर्शकले विश्वास पनि गरेका छन् । यो बर्ष पनि दर्शकको प्रतिक्षा हामीले माथि उल्लेख गरेको टिमको नै छ, जसले दर्शकको विश्वास जितेका छन् । यसैले, फिल्म क्षेत्रमा पनि टिमवर्क सबैभन्दा ठूलो विश्वास हो ।
अब, चकलेटी नायकहरु किन कमजोर बन्दै गए भनेर विश्लेषण गर्न आवश्यक छ । प्रदीप खड्का सन्तोष सेनको टिम भन्दा बाहिर चलेका छैनन् । दर्शकले, उनी र सेनको टिमलाई मन पराएका छन् । अनमोल केसीलाई झरना थापा र सुनिल कुमार थापासँगको टिमवर्क फापेको थियो । बाहिर निस्कदा उनी समस्यामा परे । अनमोल सकेसम्म आफै एक्लै निर्णय गर्न खोज्छन् ।
जसकाकारण, उनलाई फिल्म साइन गरेपछि पनि गर्ने कि नगर्ने भन्ने दोधार बढी देखिन्छ । पल शाहसँग अहिले टिम छैन । सुदर्शन र पूजाको टिममा रहँदा उनको पनि करिअर चम्किएको थियो ।
नेपाली फिल्म क्षेत्रमा टिमवर्कलाई बलियो बनाउँदै लैजाने हो भने, दर्शकले पनि विश्वास गर्छन् । एक्लै हिड्न खोज्दा धेरै कलाकार र मेकर चिप्लिएका छन् ।
प्रतिक्रिया