विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ
कार्तिकको ४ गतेबाट नेपालसँगै विश्व बजारमा रिलिज हुँदैछ । यो फिल्मलाई लिएर आम दर्शकमा उच्च प्रतिक्षा छ । नेपालमा मात्र नभएर, विभिन्न देशमा समेत फिल्मप्रति दर्शकको चासो उच्च हुँदा वितरकहरुले बुकिङ खुलाउन थालिसकेका छन् ।
अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगलको साथमा अधिकांश देशभका फिल्मका लागि शोज समेत सार्वजनिक भैसकेको छ । नेपाली फिल्मप्रति देखिएको यो खालको क्रेजले नेपालमा मात्र नभएर, ओभरसिजमा समेत यो फिल्मले बम्पर ओपनिङ गर्ने संकेत देखिएको छ ।
यो फिल्मको मेलबर्न प्रिमियरको तालिका समेत सार्वजनिक भैसकेको छ । मेलर्वनको चाइना टाउन सिनेमामा फिल्मको प्रिमियर अक्टुबर २३ तारिखमा हुँदैछ । यस्तै, २५ अक्टुबर, ३० अक्टुबर र ५ नोभेम्बरका लागि फिल्मको बुकिङ खुलेको छ । यस्तै, जापानका लागि पनि फिल्मको बुकिङ खुलेको छ । जापानमा अक्टुबर २७ मा केयोटो र ओसाकामा फिल्म रिलिज हुँदैछ भने अक्टुबर ३० मा कोबेमा फिल्म रिलिज पक्का भएको छ ।
बेल्जियममा पनि फिल्मले आक्रामक सुरुवात गर्ने देखिएको छ । बेल्जियमका ५ वटा शहरमा फिल्मको शोज अक्टुबर २१ बाट नै सुरु हुँदैछ । अक्टुबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ ।
दर्शकहरुको उच्च माग आउन थालेपछि फिल्म रिलिजको ३ साता अगाडि नै बुकिङ खोल्नु परेको वितरकहरुले बताएका छन् । यो फिल्मको टिजर र २ वटा गीत रिलिज भएपछि नेपालसँगै विदेशमा पनि यसको माग ह्वात्तै बढेको हो ।
दीपेन्द्र के खनालको निर्देशन, खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय छ । यो फिल्मले नेपाली बक्स अफिसमा पनि धेरै रेकर्ड ध्वस्त पार्ने आँकलन गरिएको छ ।
प्रतिक्रिया