हरिवंश आचार्य भन्छन् - चिकित्सकमाथिको हातपात तुरुन्त बन्द हुनुपर्छ
पछिल्लो समय चिकित्सकमाथि श्रङ्खलाबद्ध आक्रमणका घटना बढ्दै गएको छ । बिरामीको निधन भएपछि आक्रोशित भीडको सिकार चिकित्सक भइरहेका छन् ।
केही दिनयता देशका केही अस्पतालमा चिकित्सक निरन्तर आक्रमणमा परेपछि चिकित्सक आन्दोलनमा उत्रिएका छन् । मकवानपुरको सन्चो अस्पतालमा चिकित्सक कुटिएको घटना सेलाउन नपाउँदै पुनः पोखरास्थित मणिपाल अस्पतालमा चिकित्सक कुटिएपछि चिकित्सकले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन गरिरहेका छन् ।
यस्तैमा, वरिष्ठ कलाकार हरिवंश आचार्यले चिकित्सकमाथिको हातपात तुरुन्त बन्द हुनुपर्ने बताएका छन् । बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले चिकित्सकमाथि हातपात गर्ने जस्तो दण्डनीय कामलाई बन्द गर्नुपर्ने बताए ।
आचार्यले चिकित्सकसहित नागरिकमाथि हुने यस्तो किसिमको दुर्व्यवहार र हातपातको घटनामा चुप लागेर नबस्न राज्यलाई समेत आग्रह गरेका छन्। उनले भनेका छन्, ‘पछिल्लो समय स्वास्थ्य र जीवन बचाउने चिकित्सकमाथि दुर्व्यवहार हुँदै आएको छ । यस्तो अमानवीय काम रोकेर हातपात गर्ने क्रियाकलापलाई तुरुन्त बन्द गरी चिकित्सक र स्वास्थ्यकर्मीको सेवाप्रति ऐक्यबद्धता जाहेर गरौँ ।’
यस्ता घटनामा सरकारलाई पनि गम्भीर हुन आग्रह गर्दै उनले भनेका छन्, ‘देशसँग पनि अनुरोध छ कि यस्तो किसिमको हातपात जोमाथि भएपनि राज्य चुप लागेर बस्नु हुँदैन । र यो दण्डनीय कामलाई बन्द गर्नुपर्छ ।’
आक्रमणको विरोधमा चिकित्सकहरू पनि प्रदर्शनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले बुधबार नै बुधबार वक्तव्य जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने उपर कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।
त्यसो त, डाक्टर भगवान होइन । र कुनै पनि डाक्टरले उसको हातमा आएको बिरामी मरोस् भने चाहँदैन, बचाउन हरसम्भव प्रयास गर्छ । संयमता अपनाउन जरुरी छ । आफ्नो प्रियजनको ज्यान जाँदा कष्ट त हुन्छ तर आवेगमा आएर अरुमाथि हात हाल्दैमा त्यो ज्यान फर्केर आउँदैन । यदि साँच्चै डाक्टरले हेलचेक्र्याईं गरेको जस्तो लाग्छ भने कानुनी उपचार खोज्नुपर्छ । त्यो नै सबैभन्दा उत्तम उपाय हो । कानुन आफ्नो हातमा लिनु भनेको अराजकतालाई प्रश्रय दिनु हो ।
प्रतिक्रिया