‘परदेशी २’को सेन्सरमा पुगेकी वर्षा प्रचारमा किन छैनन् ?

असोजको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘परदेशी २’ले बक्स अफिसमा कस्तो व्यापार गर्छ भन्ने चासो धेरैलाई छ । किनकी, यसको पहिलो भागले बक्स अफिसमा सुखद कमाई गरेको थियो । 

यो फिल्ममा नायिकाद्धय केकी अधिकारी र वर्षा सिवाकोटी छन् । फिल्ममा वर्षाको महत्वपूर्ण भूमिका रहेको वुझिन्छ । तर, फिल्मको प्रचारमा वर्षा भने देखिएकी छैनन् । फिल्मको मोसफल यात्रामा मुख्य नायक प्रकाश सपुत र नायिका केकी अधिकारी छन् । तर, वर्षा भने फिल्मको प्रचारमा कही कतै पनि देखिएकी छैनन् । 

तर, फिल्मको सेन्सरमा भने वर्षा देखिइन् । फिल्मका निर्माता राजेश वंशल र नायिका सिवाकोटीले फिल्मको सेन्सर सर्टिफिकेट लिएर तस्वीर खिचे । यो फिल्मलाई सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ बर्षमुनिका बालबालिकाले आमा–बुबाको साथ हल जानुपर्छ । 

वर्षाका लागि यो फिल्मको व्यापार महत्वपूर्ण छ । किनकी, उनको यो बर्ष नै ‘ए साथी सुन’ फिल्म बक्स अफिसमा नराम्रोसँग असफल भएको थियो । वर्षालाई लिएर मेकरहरु फिल्म बनाउन पहिले जस्तो उत्साहित अहिले देखिएका छैनन् । यसैले, यो फिल्म चलेको खण्डमा उनलाई राहत नै हुनेछ । 

तर, फिल्मको प्रचारमा केकी र प्रकाश सपुत मात्र दौडिएका छन् । फिल्मको सफलता र असफलता दुबैको जस यी दुइले लिने देखिएको छ । नारायण रायमाझी निर्देशित फिल्मले वैदेशिक रोजगारमा पुगेका विद्यार्थीहरुको कथा भन्नेछ ।