परदेशी २ सँग प्रकाश सुपतको उत्साहसँगै डर
गायक प्रकाश सपुत फिल्म ‘परदेशी २’ मार्फत नेपाली रजतपटमा पाइला चाल्दैछन् । यसअघि म्यूजिक भिडियोमा आफ्नो अभिनय कौशलता देखाइसकेका प्रकाश पहिलोपटक यो फिल्ममार्फत दर्शकमाझ आउन लागेका हुन् ।
पहिलो फिल्म जोकोही कलाकारका लागि चुनौतीपूर्ण नै हुन्छ । यही असोज २६ गतेबाट रिलिज हुन लागेको ‘परदेशी २’को प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका प्रकाशले स्थानीय सञ्चारकर्मी तथा पत्रकारसँग फिल्मप्रतिको उत्साह र डरबारे खुलेर कुरा गरे ।
‘फिल्ममा अभिनय गर्ने तयारी हुँदै गर्दा ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि छ । जब मैले यो फिल्म गर्ने निर्णय लिएँ, त्यो बेला अहिलेको जस्तो चर्चा–परिचर्चा थिएन्’ प्रकाशले भने, ‘त्यसकारण त्यो बेलाको उत्साह र अहिलेको उत्साह उस्तै छ । तर उत्साहसँगै थोरै डर पनि मिसिएको छ ।’
फिल्म प्रचारमा अभिनेता प्रकाशसँग निर्देशक नारायण रायमाझी र अभिनेत्री केकी अधिकारी पनि नेपालगन्ज पुगेका थिए । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखासँगको साक्षात्कारमा केकीले ‘परदेशी २’को कथा सबै नेपालीको कथा भएको बताइन् ।
‘मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ले पूरा गरेको छ । परदेशी २ हामी सबैको कथा समेटिएको फिल्म हो । नारायण रायमाझी सरका अन्य फिल्महरु दर्शक बनेर हेर्ने गर्थें तर अहिले कलाकार बनेर काम गर्ने अवसर मिल्यो ।’ उनले भनिन् ।
निर्देशक रायमाझीले फिल्मले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको बताए । ‘नेपालगन्जमा मेरा अघिल्ला फिल्महरु राम्रो चलेका थिए’, उनले भने, ‘अहिलेको फिल्मलाई पनि देशभर लगायत नेपालगन्जमा पनि दर्शकको साथ मिल्ने अपेक्षा गरेको छु ।’
उनले ‘परदेशी २’को सार भनेको संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने रहेको बताए ।
साक्षात्कार पछि ‘परदेशी २’ टिमले फिल्मको कथासार बुझाउने ड्रामा समेत प्रस्तुत गरेको थियो । फिल्मको टिमले आइतबार नै नेपालगन्जका जिभिएन कलेज र यूनाइटेड कलेजमा पुगेर समेत ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरुसँग साक्षात्कार गरेको थियो । पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरु निकै खुशी भएका थिए । निर्देशक रायमाझीका अनुसार सोमबार कोहलपुरका केही कलेजमा साक्षात्कार गरेपछि फिल्मको टिम बुटवल फर्किने योजना छ । बुटवलपछि पोखरा हुँदै फिल्मको टिम काठमाडौं फर्किनेछ ।
राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको यो फिल्ममा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
प्रतिक्रिया