अनमोल केसीः जसले यसपटक भुवन केसीको कुरा सुनेनन्
नायक अनमोल केसीलाई पिता भूवन केसीको इशारामा फिल्ममा काम गर्दै आएको आरोप लाग्ने गरेको छ । फिल्मीकर्मीहरु पनि भुवन केसीलाई फकाएपछि मात्र अनमोल केसीले फिल्ममा काम गर्ने बताउँछन् ।
अनमोल केसीलाई फिल्ममा काम गराउन भुवन केसीलाई राजी बनाउनुपर्ने तर्क धेरैको छ । यसैले, अनमोललाई आफ्नो निर्णय गर्न नसक्ने नायकको रुपमा धेरैले चिन्दै आएका थिए ।
तर, फिल्म ‘रावायण’को बिषयमा भने अनमोल केसी केही फरक देखिए । भुवन केसीकै आग्रहमा अनमोल केसी फिल्मको टिमसँग नगरकोट पुगेका थिए । नगरकोटमा पुगेर फिल्मको टिमले भुवन केसीको जन्मदिन मनाएको थियो ।
यसपटक, फिल्ममा काम गर्नका लागि भुवन केसीले अनमोललाई राम्रै दबाब दिएको श्रोत बताउँछ । तर, यसपटक अनमोलले आफ्ना पिताको कुरा सुन्न नचाहेको वुझिएको छ । बाबुको दबाब आउने देखेरै अनमोल केही दिन आफन्तकोमा गएर बसेका थिए ।
अनमोल ‘रावायण’को छायांकन तत्काल नगर्ने मुडमा देखिएका छन् । उनले, केही महिनाको समय दिए आफू काम गर्न राजी भएको बताउँदै पनि आएका छन् । अनमोलले त आफूले यो फिल्मको टिमसँग कुनै पनि कागजी संझौता नगरेको समेत बताइसकेका छन् ।
तर, अनमोलले फिल्म साइन नगरेपनि १० लाख रुपैयाँको चेक पनि लिएका थिए । जर्मनीको भ्रमणमा निस्किएका भुवन केसीले फिल्मको टिमका एक सदस्यलाई यसपटक आफूले जति भन्दा पनि अनमोलले नसुनेको गुनासो गरेका थिए ।
अब, यो फिल्मको छायांकन कसरी सुरु हुन्छ पक्का भएको छैन । निर्देशक सुदर्शन थापा र उनको टिमले अनमोल केसी नभएपनि फिल्मको निर्माण नरोक्ने तयारी गरेको छ । श्रोतका अनुसार, कुनै अर्का नायकसँग फिल्मको लागि संझौता गरेर काम अगाडि बढाउने तयारी सुदर्शन र उनको टिमले गरेको छ ।
प्रतिक्रिया