अभिनेत्री रीमा भन्छिन् - सेन्सर र समीक्षाको नाममा झरना जस्ता मेकरलाई नपिरोल्नु

प्रदर्शनको दोस्रो सातामा चलिरहेको फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) हेरेपछि अभिनेत्री रीमा विश्वकर्माले झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समीक्षाको नाममा पिरोल्नु नहुने बताएकी छिन्।

रीमाले सञ्जालमा एक स्टाट्स लेख्दै फिल्म ‘एक भागवत र एक गीता’  हेरेपछि आफूलाई निर्देशक तथा अभिनेत्री झरना थापाको माया लागेको उल्लेख गरेकी छन् । 

यस्तै, समीक्षकप्रति स्टाट्समा आक्रोशित बन्दै उनले कलाको भन्दा कलाकार, निर्माता र निर्देशन टोलीप्रति पक्षपात भएर गरिएका समीक्षाको पछि नलाग्न समेत सबैलाई अनुरोध गरेकी छन् ।

उनले झरना थापा जत्तिको निर्देशक तथा निर्माता टिमलाई आफूहरूले बचाउनुपर्ने बताएकी छन् । झरनाले यो फिल्म चलाउन व्यहोर्नु परेको झन्झट र समीक्षकले गरेको फिल्म प्रतिको समीक्षा गलत भएको भन्दै कला बुझ्न रीमाले सुझाएकी समेत छिन्। 

फिल्म ‘एक भागवत र एक गीता’ रिलिजपूर्वको समयमा केही हिन्दुवादी संगठनहरुले नाममा आपत्ति जनाएका थिए। धार्मिक संस्थाले शीर्षकमा आपत्ति जनाएपछि चलचित्र विकास बोर्डको मध्यस्थतामा निर्माता र ती संस्थाबीच नाम परिवर्तन गर्ने सर्तमा सहमति जुटेको थियो। 

रीमाले झरनाजस्ता इमानदार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समीक्षाको नाममा पिरोलिरहे नेपाली चलचित्र व्यापार, व्यवसाय र करियरको रूपमा विकसित हुन अर्को पचास वर्ष लाग्न सक्ने समेत उल्लेख गरेकी छिन्।

कलाकार र फिल्म बाँच्नको लागि निर्माता बाँच्न जरुरी रहेको बताउँदै रीमाले झरनाको कलाप्रतिको बुझाई, लगाव र निर्माता निर्देशकको रूपमा देखाएको इमानदारिताको प्रशंसा गरेकी छन् । 

यस्तो छ रीमाको स्टाट्स 

फिल्म ‘एक भागवत एक गीता’ हेरे पछि- 

कलाकार र चलचित्र बाच्नको लागी निर्माता बाच्न जरूरी छ। 

झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोलिरहने हो भने नेपाली चलचित्र व्यापार, व्यवसाय र करियरको रूपमा विकसित हुन अर्को पचास वर्ष लाग्न सक्छ। 

फिल्म हेरे पछि म भित्रको कलाकारलाई कलाकार ‘झरना थापा’ को सार्है माया लागेर आयो। कलाकार झरना थापाको कलाप्रतिको बुझाई, लगाव र निर्माता निर्देशकको रूपमा देखाएको ईमान्दारिता वास्तवमै प्रशम्सनिय छ। 

यत्तिको नेपाली चलचित्र निरन्तर बन्नुपर्छ र झरना थापा जत्तिको निर्देशक ,निर्माता टिमलाई हामीले बचाउनुपर्छ। 

कलाको समिक्षा गर्नु पूर्व कला बुझ्न जरूरी छ। 

कलाको भन्दा कलाकार, निर्माता र निर्देशन टोली प्रति पक्षपाती भएर गरिएका समिक्षाको पछि नलाग्नुहोला। राम्रा चलचित्रको मल्यांकन गर्न हामी आफै सक्षम छौ। 

मलाई त मनपर्यो ‘एक भागवत एक गीता’