‘रावायण’ टिम र अनमोलबिच किन बढ्यो दुरी ?

नायक अनमोल केसीले फिल्ममा काम गर्ने भनेपनि मेकर ढुक्क हुने अवस्था छैन । किनकी, फिल्ममा काम गर्ने भनेर बचन दिएपनि अनमोल छायांकन सेटमा नपुगेसम्म त्यो फिल्म बन्छ नै भन्न सकिने अवस्था छैन । असोजको पहिलो साताबाट छायांकनमा जाने भनिएको फिल्म ‘रावायण’को टिम र अनमोलबिच अहिले यस्तै असमझदारी बढेको छ । जसकाकारण, यो फिल्म बन्ने वा नबन्ने भन्ने अन्यौल सुरु भएको छ । 

यो फिल्मका लागि अनमोलले पेश्की रकम स्वरुप निर्मात्री सुप्रिया कटुवालको हातबाट चेक वुझेका थिए । तर, निर्देशक सुदर्शन थापाले अनमोललाई कागजी रुपमा कुनै पनि संझौता गरेका थिएनन् । यहाँ, अनमोल र सुदर्शनविचको विश्वासले काम गरेको देखिन्छ । 

फिल्मका लागि अनमोलसहितको टिम केही दिन अगाडि नगरकोट पनि पुगेको थियो । नगरकोटमा फिल्मको स्क्रिप्ट फाइनल गरिएको वुझिएको छ । साथमा, नायक भुवन केसीको जन्मदिन पनि सेलिव्रेशन गरिएको थियो । 

अनमोल केसी विशेषगरि, यो फिल्मको नेगेटीभ क्यारेक्टरका लागि आत्मविश्वासी देखिएका थिएनन् । यो भूमिकामा काम गर्नका लागि आफूलाई समय चाहिने अनमोलले बताउँदै आएको श्रोतले मेरो फिल्मलाई जानकारी दियो । 

नगरकोटबाट फर्किएपछि पनि सुदर्शनलाई अनमोलले आफूलाई केही महिना समय दिनका लागि आग्रह गरेका थिए । तर, सुदर्शनले भने सबै कुरा तयारी अवस्थामा रहेकाले फिल्मको छायांकन सुरु गर्ने बताएका थिए । यसपछि, भने अनमोल र फिल्मको टिमबिच दुरी बढ्यो । श्रोतका अनुसार, अनमोललाई यो फिल्ममा काम गर्नका लागि पिता भुवन केसीले समेत दबाब दिएका थिए । अनमोल यसपटक बुबाको कुरा समेत सुन्ने मनस्थितीमा नरहेको वुझिएको छ । बुबाको दबाब आउँछ भन्ने वुझेरै अनमोल केही दिन आफ्नो आफन्तकोमा गएर बसेका थिए । 

अनमोलले फोन समेत नउठाएपछि फिल्मकी निर्मात्री सुप्रिया कटुवालले उनलाई एउटा पत्र नै पठाएकी छिन् । जहाँ, अनमोललाई फिल्मको छायांकनका लागि तयार हुन आग्रह गरिएको छ । तर, यसको जवाफ अनमोलले पठाएका छैनन् । 

अनमोल केसीले शनिबार एकाएक सामाजिक संजालमा स्टाटस कोर्दै कुनै पनि भूमिकामा आफूलाई पूर्ण रुपमा चित्त नवुझेसम्म काम नगर्ने उल्लेख गरेका छन् । 

अनमोल केसी अब फिल्ममा काम नगर्ने मनस्थितीमा देखिएका छन् । यता, फिल्मको टिमले भने महंगो रकम फिल्मको तयारीका लागि खर्च गरिसकेको छ । यसैले, पनि अनमोल केसीले फिल्ममा काम नगर्दा यो फिल्मको टिमले लाखौ रकम क्षती व्यहोर्नुपर्नेछ । वुझिएअनुसार, तत्काल छायांकन गर्नुपर्ने अवस्था भएको खण्डमा अरु कुनै नायक राखेर काम गर्न अनमोलले सुदर्शनलाई आग्रह समेत गरेका थिए । 

अनमोल केसीले मेरो फिल्मसँग भने–‘मैले केही महिनाका लागि समय मागेको छु । मलाई फिल्मको कथा मन परेको छ । तर, यसका लागि मैले तयारी गर्नुपर्छ । तत्काल फिल्मको छायांकनका लागि म तयार छैनँ ।’

अनमोलले कुनै फिल्मका लागि कलाकारले मिहिनेत गर्छु भनेर समय माग्दा मेकर खुशी हुनुपर्ने बताए । भने–‘यो त मेरो लागि मात्र नभएर, सिंगै फिल्मका लागि राम्रो कुरा होइन र ? कलाकार मात्र होइन, फिल्मको हरेक व्यक्ति तयार भएपछि मात्र काम भयो भने त्यसले राम्रो रिजल्ट दिन्छ । फिल्मको सबै टिममा पोजेटिभ माहोल बन्नुपर्छ । तर, यहाँ मेकरले यो कुरा वुझ्न सकेका छैनन् ।’

अनमोलले  सुदर्शनलाई ‘फर्कि फर्कि र जेरीः अन टप’को छायांकन सकेर यो फिल्मको छायांकन सुरु गर्न आग्रह पनि गरेका छन् । तर, सुदर्शन अनमोलको कुरामा विश्वस्त छैनन् । 

फिल्म ‘रावायण’को छायांकन असोज १३ गतेबाट सुुरु गर्ने तयारी सुदर्शनको थियो । तर, अनमोल नै फिल्मको लागि तयार नभएपछि अब काम कहिले सुरु हुन्छ पक्का छैन । तर, अनमोल र सुदर्शनविच दुरी बढ्दा यसले चर्को रुप लिने छनक देखिएको छ । श्रोतका अनुसार, सुदर्शन थापाको टिमले चाडै नै पत्रकार सम्मेलन गर्दै यो बिषयमा जानकारी दिने तयारी गरेको छ ।