फुर्सदिला कलाकार लिएर दिवाकरले सुरु गरे ‘मायाबी’

निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको फिल्म ‘मायाबी’को छायांकन सुरु हुँदैछ । फिल्मको जम्बो टोली लिएर दिवाकर मनाङ  पुगिसकेका छन् । नायक पल शाहदेखि ५ बर्षयता फिल्मको पर्दामा नदेखिएकी नायिका करिश्मा श्रेष्ठसम्म फिल्ममा छन् । 

दिवाकरको यो फिल्ममा काम गरेका अधिकांश कलाकार फुर्सदिला थिए । उनीहरुसँग न त यो अगाडि हातमा फिल्म थियो, न त यसपछि अब अर्को फिल्मको छायांकनमा गैहाल्नुपर्छ भन्ने चाप छ । 

नायक पल शाहको हातमा नयाँ फिल्म नै थिएन । गतबर्ष फागुणमा जेलमुक्त भएपछि पल शाह फिल्ममा काम गर्न खोजिरहेका थिए । तर, उनलाई नेपालका नाम चलेका व्यानरले पत्याएनन् । आफैले फिल्मको लागि निर्देशकलाई अफर गर्न पुग्दा पनि काम बनेन । फिल्ममा फुर्सदिला देखिएका पलले ‘मायाबी’मा दिल खोलेर काम गर्न पाउनेछन् । 

नायिका दीपिका प्रसाँइसँग पनि फिल्म थिएन । उनी पनि फिल्म ‘छक्का पन्जा ३’ मा काम गरेपछि खासै व्यस्त छैनन् । झन्, यसपटक त घरकै फिल्म । उनका लागि काम गर्न पनि सहज छ । 

नायिका करिश्मा श्रेष्ठ ५ बर्षयता फिल्ममा कामविहिन नै थिइन् । उसो त, फिल्ममा काम गर्दा पनि उनलाई शोभित बस्नेत र सलोन बस्नेत बाहेक अरुले पत्याएका थिएनन् । उनै, करिश्माका लागि दिवाकरको यो फिल्म संजिवनी बुटी नै बनेर आएको छ । 

फिल्म ‘ऐश्वर्य’मा काम गरेपछि भिलेनको रुपमा उदाएका प्रशान्त ताम्राकारसँग पनि फिल्मको चाप खासै छैन । यो फिल्ममा काम गरेपछि प्रशान्त केही बर्ष व्यस्त नै बने । तर, यसपछि भने उनलाई लिएर मेकरले फिल्म बनाउने रुची त्यती देखाएनन् । निर्देशक भट्टराइले आफूले नै चर्चित बनाएका भिलेनलाई लिएर यो फिल्ममा काम गरिरहेका छन् । 

फिल्ममा नव–नायकको रुपमा समिम खानले काम गर्दैछन् । उनका लागि त यसै पनि डेब्यू फिल्म भएकाले काम देखाउने अवसर आएको छ । उनी पनि फुर्सदिला नै हुने भैहाले । 

नायक सुशिल सिटौला भने यो भीडमा केही व्यस्त कलाकारको रुपमा देखिएका छन् । भदौ महिनामा सुशिलको ‘जुलेबी र ऐँचो पैँचो’ रिलिज भएको थियो । सुशिलका यी दुई फिल्म हेरेपछि दिवाकरले ‘मायाबी’मा फाइनल गरेका थिए ।