महंगा गाडी चढ्ने हैसियत बनाएका यी नेपाली कलाकार

विश्व बजारमै हेर्ने हो भने कलाकारहरुलाई सफलता सहजै मिलेको जस्तो देखिन्छ । जो सुकै कलाकार हुन्, उनीहरुले सफलताको सिँढी चढ्न ठूलै पापड बेल्नु पनि परेको छ । कलाकारको सफलता पछाडी थुप्रै हात जोडिएका हुन्छन् । उनीहरुलाई सफल बनाउन लगानी गर्नेदेखि निर्देशक हुँदै राम्रो देखाउनेसम्मको हात हुन्छ ।

त्यसो त केही वर्षयता नेपाली फिल्मको बजार फैलिँदै गएसँगै फिल्म निर्माणमा लगानी गर्ने निर्माताको पनि कमै छैन । फिल्ममा लगानी गर्नुलाई ‘बालुवामा पानी हाल्नु जस्तै’ पनि भनिन्छ । तर पनि उनीहरुले लगानी गर्न छोडेका छैनन् । नेपालमा फिल्ममा लगानी बढेसँगै कलाकारले पाउने पारिश्रमिक पनि आकासिएको छ । 

राम्रै पारिश्रमिक पाउने हुन् या औषत पारिश्रमिक पाउने कलाकार हुन् । उनीहरुको जीवनशैली पनि फेरिँदै गएको छ । अझ भन्नै पर्दा बिलाशी शैलीको जीवन बिताइरहेका छन् । एउटा फिल्म हिट भएपछि कलाकारले पारिश्रमिक पनि ‘हिट’ नै किसिमको माग्न थालेका छन् ।

कलाकारको जीवनशैली कति बिलासी छ भन्ने कुरा उनीहरुले दैनिक रुपमा चढ्ने आफ्नो गाडीको मोडललाई हेरे पुग्छ । नेपाली कलाकारिता जगतका चर्चित कलाकारहरुले कति महंगो गाडी चढ्छन् होला ? यो चासो फिल्मकर्मीमात्र नभई सर्वसाधारणमा पनि उत्तिकै छ ।

तर कलाकारहरुले फिल्मकै पैसाले भने गाडी चढेका होइनन् । फिल्मसँगै विभिन्न विज्ञापन, स्टेज शोहरुमार्फत प्राप्त आम्दानीले उनीहरुलाई महंगो गाडी चढ्न सहज बनाइदिएको छ ।

दयाहाङ राई, मिरुना मगर, आँचल शर्मा, पूजा शर्मा, दिपकराज गिरी, केकी अधिकारी, साम्राज्ञी राज्यलक्ष्मी शाह, अनमोल केसी, प्रियंका कार्की, आकाश श्रेष्ठ लगायत कलाकारले कति महँगो गाडी चढ्छन् त ? यहाँ ती कलाकारको गाडीका बारे चर्चा गरिएको छ ।

१५ वर्षदेखि कियाको स्पोर्टेज गाडी चढ्दै आएका महानायक राजेश हमाल हाल जीप कम्पास चढ्छन् । युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको बताउने हमाल जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट आफु प्रभावित भएको खुलाउछन् । उनले यो गाडी ८४ लाख रुपैंयाँमा किनेका हुन् ।

अभिनेता हरिवंश आचार्य केही समय अघि सम्म स्कोर्पियो चढ्थे । उनी प्रायः हरेक कार्यक्रममा यही गाडी चढेर पुग्ने गरेका थिए । यति बेला भने उनले गाडी परिवर्तन गर्दै विवाइडी अटो ३ चढ्न थालेका छन्। यो गाडीको नेपाली मूल्य ५५ लाख ९९ देखि ८१ लाख ९९ हजार हाराहारी छ । 

अभिनेता दयाहाङ राई होण्डा कम्पनीको होण्डा सिटी इःएचइभी मोडलको कार चढ्छन् । कम्पनीको वेभसाइटका अनुसार यसको नेपाली बजार मूल्य ९५ लाख ९९ हजार रुपैंयाँ पर्दछ ।

महंगो कार चढ्नेमा नायिका आँचल शर्मा सबैभन्दा अगाडि आउँछिन् । उनले, मिट्सुविसीको पजेरो स्पोर्टस् कार चढ्दै आएकी छिन् । यो कारको बजार मुल्य १ करोड ७८ लाख पर्दै आएको छ । 

अर्का अभिनेता अनमोल केसी जीप कम्पनीको कम्पास ब्राण्डको गाडी चढ्छन् । उनले यो गाडी चार वर्षअघि किनेका हुन् । अनमोलका अनुसार फिल्म ‘ए मेरो हजुर ३’को सुटिङ समयदेखि नै उनलाई यो गाडी मनपरेको थियो । कम्पनीको वेबसाइट अनुसार यसको नेपाली बजार मूल्य एक करोड चार लाख ९० हजार छ ।

अभिनेत्री पुजा शर्मा हुन्डाई क्रेटा कार चढ्छिन् । उनले २०७८ सालमा ७० लाख रुपैंयाँ तिरेर यो कार किनेकी थिइन् । कम्पनीका अनुसार यो कारको अहिलेको बजारमा मूल्य ७७ लाख ५६ हजार छ ।

फिल्मसँगै म्यूजिक भिडियो पनि व्यस्त रहने अभिनेता पुष्प खड्का हुन्डाईको क्रेटा कार चढ्छन् । पुष्पले दुई वर्षदेखि यो गाडी चढ्दै आएका छन् । जसको अहिलेको बजारमा मूल्य ७७ लाख ५६ हजार छ ।

अभिनेत्री वर्षा राउत टाटा कम्पनीको टाटा नेक्सन इभी चढ्छिन् । यो बिजुलीबाट चल्ने गाडी हो । उनले चढ्ने गाडीको अहिलेको बजार मूल्य ४० लाख ९९ हजार देखि ४२ लाख ९९ हजारसम्म छ ।

सुपरहिट फिल्म ‘छक्का पन्जा’ सिरिजका कलाकार तथा निर्माता दीपकराज गिरी पनि गाडीको सौखिन मानिन्छन् । उनले, समय समय गाडी फेरेको पाइन्छ । उनले, हाँस्य कलाकारको रुपमा स्थापित हुँदै गर्दा ३१ लखको स्विफ्ट डिजाएर चढ्ने गरेका थिए । यसपछि, उनले विशेष सेवा र सुविधासहितको टाटाको हेक्जा कार किनेका थिए । यो कारको हालको बजार मुल्य ८० लाख छ । यो कार खरिद गरेपछि दीपकराज महंगो गाडी चढ्ने सेलिब्रिटीको सूचीमा पनि परेका छन् । 

चलचित्र विकास बोर्डको अध्यक्ष समेत रहेका नायक भुवन केसीले लामो समयदेखि हुन्डाइको क्रेटा चढ्दै आएका छन् । यो कारको बजार मुल्य ५८ लाख रुपैयाँ छ । उनलाई सरकारले सुविधा स्वरुप जीप पनि उपलब्ध गराउँदै आएको छ । सार्वजनिक कार्यक्रममा पनि बोर्ड अध्यक्ष केसी सरकारी सुविधा अनुसारकै जीप चढ्ने गर्दछन् । उनका छोरा अनमोल केसीमा भने कार मोह खासै देखिदैन । अनमोल केसी बाइकका सौखिन हुन् । अनमोलले डुकाटीको बाइक चढ्दै आएका छन् । उनीसँग ३ वटा वाइक छन् । 

नायक आयुष्मान देशराज जोशी पनि महंगो कार चढ्छन् । उनी मर्सिडिज बेन्ज २०० डी १९८४ र किया स्पोर्टेज २०११ चढ्छन् । उनीसँग भएका दुबै कारको मुल्य क्रमशः १ करोड ६० लाख र ८० लाख भन्दा बढी छ । 

नायक रमेश उप्रेतिले पनि लामो समयदेखि हुण्डाइको क्रेटा कार चढ्छन् । यसको बजार मुल्य झण्डै ५८ लाख रुपैयाँ छ । 

नायक निखिल उप्रेतिले हुण्डाइको क्रेटा कार चढ्दै आएका छन् । यो कारको मुल्य ५० लाख देखि ५३ लाखसम्म पर्छ । निखिल उप्रेति लामो समयदेखि फिल्म निर्देशनको तयारीमा समेत छन् । 

‘छक्का पन्जा’ सिरिजकी ब्लकबस्टर निर्देशक दीपाश्री निरौलाको जीवनशैली पनि लोभलाग्दो छ । फिल्म, ब्रान्ड र व्यापार व्यवसायबाट राम्रो रकम आम्दानी गर्दै आएकी दीपाश्रीले गएको बर्ष मात्र हुन्डाइको आई ट्वान्टी एक्टिभ कार चढ्दै आएकी छिन् । ‘छक्का पन्जा ३’ सफल भएपछि यसको टिमले दीपालाई कार उपहारमा दिएको हो । यो कारको बजार मुल्य ४० लाखदेखि ४२ लाखसम्म छ । यसअघि दीपाले सिल्भर कलरको सेन्ट्रो चढ्दै आएकी थिइन् । 

नायक प्रदीप खड्काले फिल्म ‘प्रेमगीत २’ सफल भएपछि निर्माता सन्तोष सनेबाट कार उपहार पाएका थिए । फिल्म सफल भएको खण्डमा प्रदीपलाई ३० प्रतिशत नाफाको शेयर दिने बताएका सन्तोषले वाचा गरे अनुसार कार्यक्रम नै गरेर कार उपहार दिएका थिए । प्रदीपले चढ्दै आएको कारको हालको बजारमुल्य ४२ लाख छ । 

महंगो कार चढ्ने अर्का कलाकारमा नायक पल शाह पनि हुन् । पलले, सुरक्षित यात्राका लागि काठमाडौंमा घर भन्दा पहिले कार किनेको बताउँछन् । पल शाह निशानको सन्नी कार चढ्छन् । यसको बजार मुल्य हालको अवस्थामा ४० लाख छ । 

नायिका प्रियंका कार्कीले पहिलो पटक कार किन्दा उनलाई भूकम्प पीडितका लागि उठाएको रकमले कार किनेको आरोप लाग्यो । यसै कारण पनि उनको कार किनाइले खुबै चर्चा बटुल्यो । तर प्रियंकाले भने आफूलाई लागेको यो आरोप बिल्कुलै गलत भएको बताइन् । प्रियंकाले मर्सिडिज कार चढ्दै आएकी थिइन् । उनले किनेको नयाँ कार टाटा जेस्ट हो । यसको मुल्य ३३ लाख ५० हजार पर्न आउँछ । 

नायक सविन श्रेष्ठले पनि लामो समयदेखि कार चढ्दै आएका छन् । उनले, सुजुकीको स्विफ्ट कार चढ्दै आएका छन् । यो कारको मुल्य ३२ लाख छ । सविनले यो कार किनेको ३ बर्ष भयो । 

नायिका शिल्पा पोखरेल गत बर्ष मात्रै कार किनेकी हुन् । उनले भग्स वागेनको पोलो १.१ कार खरिद गरेकी हुन् । यो कारको बजार मुल्य ३३ लाख रुपैयाँ पर्छ । शिल्पाले आफ्नै कमाइले यो कार किनेकी हुन् । 

अहिलेकी चर्चित अभिनेत्री मिरुना मगर हुन्डाई क्रेटा कार चढ्छिन् । कम्पनीका अनुसार यो कारको अहिलेको बजारमा मूल्य ७७ लाख ५६ हजार छ ।

यस्तै, अभिनेत्री स्वस्तिमा खड्का पनि हुन्डाई क्रेटा कार चढ्छिन् । यो कारको अहिलेको बजारमा मूल्य ७७ लाख ५६ हजार छ ।

नेपाली सेलिब्रिटीहरुमा कारको मोह विगत केही बर्षदेखि निकै बढेको पाइन्छ । विशेषगरि, फिल्मबाट महंगो पारिश्रमिक, ब्रान्ड बजारबाट राम्रो आम्दानी, विदेश कार्यक्रम आदिले जीवनशैली फेरिएपछि कलाकारहरुका लागि कार सहज बन्दै गएको हो ।