फिल्म छनोटमा गम्भिर बनेको छुः अनमोल केसी

नायक अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ले गतबर्ष कमजोर व्यापार गर्यो । फिल्मको समीक्षा पनि निकै खराब आयो । साथमा, अनमोलको अभिनयलाई पनि दर्शकले रुचाएनन् । लभ स्टोरी फिल्ममा रुचाइएका अनमोलको एङ्ग्री अवतारमा दर्शकको मन बसेन । यसपछि भने अनमोल फिल्म छनोटलाई लिएर गम्भिर बनेका छन् । 

मेरो फिल्मसँग कुरा गर्दै अनमोलले भने–‘छड्के २ ले मलाई धेरै कुरा सिकाएको छ । म फिल्म छनोटको बिषयमा निकै नै गम्भिर छु । आफूलाई कुनै पनि भूमिका शत प्रतिशत चित्त नवुझेसम्म काम सुरु गर्नु हुदैन भन्ने कुरामा म अडिग छु ।’

अनमोल केसीले आफ्नो अहिले नै कुन फिल्मको छायांकन सुरु हुन्छ भन्ने पक्का नभएको बताए । उनले भने–‘चाहेको भए मैले एक पछि अर्को फिल्म गर्दै अगाडि बढ्न सक्थेँ । तर, दर्शकले मलाई दिएको विश्वास मैले कमजोर बनाउनु हुँदैन । यसैले, आफ्नो भूमिकामा शत प्रतिशत विश्वास नभएसम्म म काम सुरु गर्ने सोचमा छैन ।’

अनमोलले आफ्नो आग्रहमा नै फिल्म ‘फर्कि फर्कि र जेरीः अन टप’को मेकरले छायांकनको समय पछि सारेको समेत बताए । उनले भने–‘कुनै पनि भूमिकामा काम गर्ने भएपछि त्यसमा फिल्मको हरेक टिम विश्वस्त हुनुपर्छ । टिमका सबै सदस्यले पूर्ण रुपमा तयारी गर्नुपर्छ । यसपछि, मात्र फिल्म राम्रो बन्छ । म आफ्नो भूमिकामा शत प्रतिशत तयार नभएसम्म फिल्मको छायांकनमा जानु हुँदैन भन्ने ठान्दछु ।’

तर, नेपालका केही मेकरहरुले भने आफ्नो यो शैली नवुझेको र काम गर्न हतार गरेको अनमोलको गुनासो छ । उनले भने–‘कुनै पनि कलाकारले समय दिनुहोस्, म मिहिनेत गर्छु भन्नु भनेको त फिल्मका लागि पनि राम्रो हो नी । म अहिले मेकरसँग यही कुरा गर्छु । किनकी, टिमको एक जना सदस्य पनि तयार नहुने अवस्था आयो भने फिल्म राम्रो बन्दैनँ ।’

अनमोलको पाइपलाइनमा ‘रावण, फर्कि फर्कि, जेरीः अन टप’को साथमा होम प्रोडक्शनको फिल्म छ । अनमोल यी सबै फिल्ममा काम गर्ने तयारीमा छन् । तर, सबै फिल्मका लागि आफू पूर्ण रुपमा तयार भएपछि मात्र छायांकन सुरु गर्ने उनको योजना छ । यसैले, अनमोलको कुन फिल्मको पहिले छायांकन सुरु हुन्छ, अझै पक्का भएको छैन ।