‘पशुपति प्रसाद २: भष्मे डन’को ‘प्रेम शरणम्’ गीत सार्वजनिक, स्वस्तिमाको प्रेममा भष्मे डन

 फिल्म 'पशुपति प्रसाद २: भष्मे डन'को दोस्रो गीत 'प्रेम शरणम्' सार्वजनिक गरिएको छ ।

आगामी कार्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । कमेडी फ्लेबरमा तयार पारिएको भिडियोमा दुई पात्रबिचको माया प्रेमलाई देखाइएको छ । 

फिल्ममा कृष्ण भारद्वाजको संगीत तथा सुशील पौडेल र संगीतकार भारद्वाजको शब्द रचना रहेको गीतमा काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर सुन्न सकिन्छ । प्रविन सिंहको कोरियोग्राफी र निरज कँडेलको डिओपी रहेको गीतको अडियो र भिडियो उत्कृष्ट लाग्छ । साथै, सार्वजनिक गीतमा संगीतकार भारद्वाज आफैले र्‍यापमा स्वर समेत भरेका छन् ।

दर्शकमाझ प्रतीक्षित रहेको फिल्मले 'पशुपति प्रसाद'को निधन पश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको 'पशुपति प्रसाद २: भष्मे डन'मा विपिनका अलावा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण गरिएको हो । लेखक लामिछानेले फिल्म नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । फिल्मलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दै छन् ।