मेरो फिल्मकर्मी गौतम प्रेस काउन्सिल विधागत पत्रकारिताबाट पुरस्कृत

मेरो फिल्म डटकममा कार्यरत नेमिष गौतम प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवको अवसरमा शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कला र रंगमञ्च क्षेत्रमा आबद्ध भइ विधागत पत्रकारितामा निरन्तर योगदान पुर्याए बापत पत्रकार गौतमलाई पुरस्कृत गरेकी हुन्।

गौतम विगत डेढ दशकदेखि रंगमञ्च पत्रकारितामा कलम चलाउँदै आएका छन् । उनले नेपाल समाचार पत्रबाट फिल्म पत्रकारिता सुरुवात गरेका थिए । त्यस यता गौतमले थुप्रै सञ्चारमाध्यममा काम गरिसकेको अनुभव रहेको छ ।  उनले नेपाल समाचार पत्रपछि हिमालय टाइम्स, सौर्य दैनिक, नागरिक दैनिक, कान्तिपुर साप्ताहिक, द नेपाल टप राष्ट्रिय दैनिक लगायत मिडियामा काम गरेका छन् । यस्तै, ग्ल्यामर नेपाल डटकम, खबरहब, क्यानडा नेपाल, अनलाइन न्युज ७ लागाएतका डिजिटल सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

यसै गरी, काउन्सिलले यो वर्षको गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ। सो पुरस्कार पाउने शर्मा पहिलो महिला पत्रकार हुन्। उक्त पुरस्कारको राशी एक लाख ५१ हजार रहेको छ।

यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका पत्रकार दमन राईलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशी एक लाख १० हजार रुपैयाँ रहेको छ।

यसै गरी, विधागत पत्रकारिता पुरस्कारबाट फोटो पत्रकार केशव थोकर पुरस्कृत भएका छन्।

थोकरलाई मन्त्री शर्माले फोटो पत्रकारितामा योगदान पुर्याए बापत पुरस्कृत गरेकी हुन्।