धमाधम सुटिङ...
नायिका आँचल शर्माले आजबाट फिल्म ‘डिग्री माइला’को छायांकन सुरु गरेकी छिन् । रुम्झाटारबाट फिल्मका मुख्य कलाकारमध्ये आँचल शर्मा र वुद्दि तामाङले क्यामेरा पूजा गर्दै छायांकन प्रारम्भ गरेका हुन् । नयाँ बर्षलाई प्रदर्शन मिति तोकिएको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् ।
बासुरी इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्मको शिर्ष भूमिकामा दयाहाङ राई छन् । दयाहाङ असोज ८ गतेबाट यो फिल्मको छायांकनमा जोडिनेछन् । यो फिल्मको नाम घोषणा भएसँगै यसको चर्चा पनि चुलिएको छ । आउँदो बर्षको सुरुवातमै यो फिल्मले बक्स अफिस तताउने धेरैको विश्वास छ ।
विशेषगरि, पानी पर्ने महिना सकिएसँगै नेपाली फिल्मको छायांकन पनि धमाधम सुरु हुन थालेका छन् । केही फिल्मको छायांकन भने केही हप्तादेखि नै चलिरहेको छ । छायांकनमा गएका वा जाने तयारीमा रहेका अधिकांश फिल्म अर्को बर्षका लागि तयार हुँदैछन् ।
नायिकात्रय रेखा थापा, पूजा शर्मा र बेनिशा हमालले फिल्म ‘उपहार’को छायांकन गरिरहेका छन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भैरहेको फिल्मको छायांकन सुरु भएको २ साता बढी भएको छ । यो फिल्मलाई पनि नयाँ बर्षको छेकोमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
फिल्म ‘राजागन्ज’को छायांकन केही दिन अगाडि मात्र सकिएको छ । दिपक रौनियारको निर्देशनमा रामबाबु गुरुङले निर्माण गरेको फिल्ममा दयाहाङ राई र निकिता चण्डक मुख्य भूमिकामा छन् ।
फिल्म ‘रंगेली’को छायांकन मोरङमा धमाधम भैरहेको छ । केही दिनदेखि छायांकन भैरहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई फागुणको २५ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
फिल्म ‘दान्भी’को पहिलो चरणको छायांकन केही साता अगाडि सकियो । यो फिल्मको पहिलो चरणको छायांकन सकेर नायिका पूजा शर्माले ‘उपहार’को छायांकन सुरु गरेकी हुन् । कुन्साङ बोमजोङ र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । फिल्मको बाँकी छायांकन दार्जिलिङमा गर्ने तयारीमा निर्माणपक्ष छ ।
सिमोस सुनुवारले निर्देशन गरेको फिल्म ‘हात्तीछाप’को छायांकन पनि केही साता अगाडि मात्र सकिएको छ । यो फिल्मको अझै एक गीतको छायांकन गर्न बाँकी नै छ । फिल्मलाई माघको २६ गतेबाट रिलिज गर्ने तयारीमा निर्माता किरण नेपाली लागेका छन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल लगायतका कलाकारको अभिनय छ ।
फिल्म ‘मायाबी’को छायांकन पनि सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष लागेको छ । दिवाकर भट्टराइको निर्देशनमा बन्ने फिल्मको छायांकन मनाङबाट सुरु हुँदैछ । फिल्ममा पल शाह, दीपिका प्रसाँई, करिश्मा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्म ‘चित्रा’को छायांकन पनि पोखरामा सुरु भएको छ । घनश्याम लामिछानेको निर्देशनमा बनिरहेको यो फिल्मको छायांकन केही दिन अगाडिबाट पोखरामा सुरु भएको हो । फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का लगायतका कलाकारको अभिनय छ ।
यी बाहेक प्रदीप भट्टराइको निर्देशनमा बन्न लागेको फिल्म ‘महाजात्रा’, सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘रावायण’को छायांकन केही दिनमै सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष छ । असोज महिना लागेसँगै नेपाली फिल्मको छायांकनले पनि तिव्रता पाएको छ ।
प्रतिक्रिया