बोर्ड अवार्डका जुरीको आरोप–‘नाम सार्वजनिक गर्नेले आर्थिक लेनदेन गरेको छ’


चलचित्र विकास बोर्डले भदौमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८०’को विवाद झनै बढेको छ । फिल्म ‘प्रकाश’को टिमले ‘उत्कृष्ट फिल्म’को नाम सार्वजनिक गर्नुपर्ने माग राख्दै बिहिबार उच्च अदालत, पाटनमा रिट दायर गरेको छ । यसपछि, यो विवाद झनै चर्किएको हो ।

यसैबिच, अवार्डका जुरी मध्येका एक शिवम् अधिकारीले सामाजिक संजालमा एक स्टाटस लेख्दै आर्थिक लेनदेखनको गन्ध आइरहेको आरोप लगाएका छन् । उनले लेखेका छन्–‘फलानो फिल्म नै उत्कृष्ट हो भनेर जसले सार्वजनिक गर्यो, उसले सम्बन्धितहरुसँग आर्थिक लेनदेन गरेको गन्ध आइरहेको छ । त्यसकारण, म जुरी सदस्यको नाताले यो प्रकारको भ्रष्टाचारको छानबिन होस् भन्ने चाहन्छु । बन्द खाममा के–के छन् भनेर बाहिर ल्याउँदै तपाइलाई दिलाइदिन्छु भनेर आर्थिक लेनदेखनको पनि छानबिन हुन जुरुरी छ ।’

उनले, जुरीका कुन सदस्यले पैसा खाएर नाम सार्वजनिक गरेका हुन् भनेर खुलाएका छैनन् । तर, ‘उत्कृष्ट फिल्म’को नाम सार्वजनिक नभएपछि आफूहरुले ‘प्रकाश’ फिल्मको नाम सिफारिश गरेको भन्दै हिड्न् जुरीका सदस्यमाथि उनले घुमाउरो तरिकाले आर्थिक अनियमितताको आरोप लगाएका छन् । 

जुरी सदस्य अधिकारीले लेखेका छन्–‘नैतिकताको प्रश्न । फलानो फिल्मलाई किन सम्मान गरिएन ? त्यो खाम भित्र ६१ फिल्मको रिजल्ट थियो, त्यो फलानो फिल्म नै किन हुनुपथ्र्यो ? फलाने फिल्मले किन रिट हाल्यो ? म पनि एक जुरी सदस्यको नाताले यो प्रश्न गर्दैछु, किनकी त्यो बन्द खाममा थियो । कसरी एउटा फिल्मले मात्र रिट गर्यो, अरुले किन गरेन ? रहस्यमय छैन र ?’

उनले ‘उत्कृष्ट फिल्म’को घोषणा किन गरिएन भन्ने जवाफ भने आफूसँग नभएको पनि लेखेका छन् ।