इन्स्टाग्राममा १० लाख फलोअर्स कमाउने सेलिब्रिटी को–को छन् ?


सामाजिक संजालमा कलाकारहरूको फलोअर्सको संख्याले उनीहरूको लोकप्रियताको मापन गर्दछ । उसो त सामाजिक संजालमा देखिएको फलोअर्सको क्रेज हलमा भने देखिएको पाइँदैन । तर, सामाजिक संजालमा राम्रो फलोअर्स कमाउँदा सेलिब्रिटीहरुलाई दर्शकसम्म पुग्न र आफ्नो कुरा राख्न अझै सजिलो हुने गरेको छ । 

हुनत, पछिल्लो समय प्रविधिको विकाससँगै फलोअर्स पनि सहजै किन्न सकिन्छ । तर, यसरी किनिएका फलोअर्स लामो समयसम्म रहदैनन । नेपाली फिल्म क्षेत्रका सेलिब्रिटीहरुको फलोअर्स धेरैको १ देखि ५ लाखको बीचमा रहेको पाइन्छ । तर, केही सेलिब्रेटीले भने १० लाख बढी फलोअर्स कमाएका छन् । 

सामाजिक संजाल इन्स्टाग्राममा नायिका अदिति वुढाथोकीको सबैभन्दा बढी फलोअर्स छन् । उनले २३ लाख फलोअर्स कमाएकी छिन् । नेपाल र भारतमा रहेर मोडलिङ गर्ने भएकाले पनि अदितिको फलोअर्स संख्या लोभलाग्दो देखिएको हो । अदितिले सामाजिक सञ्जालबाटै राम्रो पैसा समेत कमाउने गरेकी छिन् । ब्रान्डहरुको प्रचार गर्दै अदितिले राम्रो रकम सोसल मिडियाबाट कमाउने गरेकी छिन् । 

यस्तै, नायिका प्रियंका कार्कीको सामाजिक संजालमा ११ लाख बढी फलोअर्स छन् । उसो त, प्रियंकाको फलोअर्सको संख्या अहिलेसम्म ११ लाख भन्दा धेरै माथि  जानुपर्ने हो । किनकी, उनको १० लाखको लोभलाग्दो आँकडा पार भएको केही बर्ष भइसक्यो । प्रियंकाले पनि इन्स्टाग्राममा ब्रान्डको प्रचार गरेर राम्रो रकम कमाउँदै आएकी छिन् । 

अब, नायिका स्वस्तिमा खड्काले पनि इन्स्टाग्राममा १० लाख फलोअर्स बटुलेकी छिन् । यी नायिका ब्रान्ड बजारमा निकै नै सफल मानिन्छिन् । सोसल मिडियामा ब्रान्डको प्रचार गरेर उनले पनि राम्रो रकम कमाइरहेकी छिन् । यतिमात्र होइन, सामाजिक संजालमा आफ्नो फिल्मको, गीतसङ्गीतको प्रचार पनि उनले राम्रोसँग गर्दै आएकी छिन् । स्वस्तिमा पनि सामाजिक संजालमा निकै सक्रिय मानिन्छिन् ।