राष्ट्रिय अवार्डमा ‘उत्कृष्ट फिल्म’ गायब भएको भन्दै ‘प्रकाश’ टिम अदालतमा


फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र यो फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मिनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा मुद्दा दर्ता गरेका छन् । 

भदौ १२ गते राष्ट्रपति कार्यलयमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा ‘उत्कृष्ट फिल्म’को विधा नै गायब बनाइएको भन्दै ‘प्रकाश’को टिम अदालत पुगेको हो । रिटमा जुरी कमिटीले गरेको निर्णयको सक्कल झिकाउनुपर्ने र उत्कृष्ट फिल्मको अवार्ड वितरण नगर्नुको कारण सार्वजनिक गर्नुपर्ने माग समेत गरिएको छ । 

फिल्मको टिमले निवेदन दिएपछि शुक्रबार बिहान ११ बजे अदालतमा छलफलका लागि दुबै पक्षलाई बोलाइएको छ । 

अवार्डमा उत्कृष्ट फिल्मको विधा किन गायब पारियो भन्ने बिषयमा अहिले चलचित्र विकास बोर्डले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर, मिडियामा आएको खबर अनुसार जुरीले ‘उत्कृष्ट फिल्म’मा ‘प्रकाश’को नाम सिफारिश गरेका थिए । तर, सूचना तथा संचार मन्त्रालयको ठाडो हस्तक्षेपमा यो विधामा अवार्ड नबाँडिएको खबर सार्वजनिक भएको थियो । 

अवार्ड समारोहमा जुरीका संयोजक राजेन्द्र सलभ उपस्थित भएका थिएनन् । उत्कृष्ट फिल्मको विधा नै गायब भएपछि असन्तुष्टी जनाउँदै उनी कार्यक्रममा सहभागी नभएको चर्चा चलेको थियो ।