मुकुनको ‘लक’ कता हरायो ?

अभिनेता मुकुन भुषाललाई फिल्म क्षेत्रको लक्की मानिन्छ । उनले अभिनय गरेको पहिलो फिल्म ‘बुलबुल’ले निकै चर्चा पायो । यो फिल्मले चर्चा पाएपछि मुकुनको करिअर पनि उचालियो । यसपछि, मुकुनले नै अभिनय गरेको अर्को फिल्म ‘झिंगे दाउँ’ले बक्स अफिसमा निकै राम्रो व्यापार गर्यो ।

फिल्मको व्यापारले मुकुनको माग पनि फिल्म क्षेत्रमा ह्वात्तै बढ्यो । अवस्था यस्तो आयो कि, उनले अभिनय गरेका २ वटा फिल्म एकै दिन रिलिजमा आए । भदौ महिनामा उनी अभिनित दुई फिल्म ‘गणपति र ऐँचो पैँचो’ रिलिजमा आयो । 

‘झिंगे दाउँ’ रिलिज भएपछि फिल्म क्षेत्रमा लक्की नायक मानिएका मुकुनको भदौमा रिलिज २ फिल्मले निकै कमजोर व्यापार गरे । ‘गणपति’को गीत हिट भयो, तर फिल्म चलेन । ‘ऐँचो पैँचो’ले पनि जति चर्चा पायो, त्यो अनुसार व्यापार गर्न सकेन । यसपछि, भने मुकुनको ‘लक’ हराएको चर्चा फिल्म क्षेत्रमा चल्न थालेको छ । 

उसो त, मुकुनको हातमा फिल्मको अभाव भने छैन । उनी फिल्म ‘उपहार’को छायांकनमा व्यस्त छन् । मुकुनले नै बसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘ज्वाँई साहेब’मा काम गर्ने पक्का भैसकेको छ । यो फिल्मको छायांकन केही सातामै सुरु गर्ने तयारीमा निरौला लागिपरेका छन् । 

मुकुनले फिल्म साइन भने गरिरहेका छन् । उनले फिल्म ‘दौंतरी’ पनि साइन गरिसकेका छन् । मुकुनको हातमा फिल्मको भने अभाव छैन । तर, यो बर्ष २ वटा फिल्म असफल हुँदा उनको करिअरलाई झट्का भने लागेको छ ।