सुदर्शन र रोहितको फिल्मले अनमोललाई चाप
नायक अनमोल केसीका लागि फिल्म छायांकनको चाप बढ्दा सेड्यूल मिलाउन हम्मे हम्मे पर्ने देखिएको छ । निर्देशक सुदर्शन थापाले अनमोललाई लिएर बनाउन लागेको फिल्म ‘रावायण’को छायांकन केही दिनमै सुरु हुँदैछ । उसो त, यो फिल्मको छायांकन असोजको १ गतेबाट गर्ने तयारी थापाको थियो ।
तर, यो फिल्मलाई असोजको दोश्रो साताबाट छायांकनमा लैजाने तयारीमा अब उनी लागेका छन् । नगरकोटमा फिल्मको स्क्रिप्ट फाइनल गरेर फर्किएपछि सुदर्शन फिल्म छायांकनको तयारीमा लागेका हुन् ।
यो फिल्मको छायांकन सकिएलगतै अनमोलले रोहित अधिकारीको फिल्म ‘फर्कि फर्कि’को काम गर्नुपर्नेछ । रोहितका अनुसार, तिहार लगतै फिल्मको छायांकन सुरु गर्ने योजना उनको छ । तिहार लगतै केही दिन वर्कशप गरेर फिल्मको छायांकन सुरु हुने रोहित बताउँछन् । फिल्मको घोषणा टिजर समेत निर्माणपक्षले सार्वजनिक गरिसकेको छ ।
यसरीहेर्दा, अनमोलले लगातार २ वटा फिल्मको काम गर्नुपर्ने देखिन्छ । तर, रोहितलाई अनमोलले दिएको वाचा पुरा गर्न भने समस्या हुनसक्छ । किनकी, सुदर्शनले अहिलेसम्म फिल्मको छायांकन सुरु नगरेकाले तिहार लगतै अनमोललाई ‘फर्कि फर्कि’को लागि समय दिन गाह्रो पर्ने देखिन्छ ।
कुनै पनि फिल्मको तयारीका लागि केही महिना समय लिने गरेका अनमोललाई यसपटक भने त्यो समय हुने छैन । यी दुई फिल्ममध्ये कुन फिल्म पहिलो रिलिज हुनेछ भन्ने टुंगो छैन । रोहित आउँदो बर्षको सुरुवातमै फिल्म रिलिज गर्ने तयारीमा छन् । सुदर्शनको भने फिल्मको प्रदर्शनको बिषयमा कुनै पनि धारणा सार्वजनिक भएको छैन ।
प्रतिक्रिया