दुई साता छैनन् नेपाली फिल्म, ‘नाङ्गो गाउँ र एक भागवत् र एक गीता’ले उठाउन सक्छन् लाभ

भदौ महिनामा ४ वटा शुक्रबार नेपाली फिल्म रिलिज भए । हरेक साता दुई वटा फिल्मले बजारमा आफ्नो उपस्थिति जनाए । भदौ महिना नेपाली फिल्मका लागि निकै नै मारामार रह्यो भन्दा फरक नपर्ला । 

तर, असोज महिनामा यसपटक दशैँ नपर्दा नेपाली फिल्म रिलिजमा पनि निर्माताले खासै मन गरेका छैनन् । भदौ महिनाको दुई वटा शुक्रबार कुनै पनि नेपाली फिल्म रिलिजको क्यालेन्डर छैन । असोज ५ गते र असोज १२ गते कुनै पनि नेपाली फिल्म रिलिज हुने छैनन् । असोज १९ गतेबाट भने फेरि नेपाली फिल्म रिलिजको मिति तोकिएको छ । 

दुई साता कुनै पनि नेपाली फिल्म नहुँदा यसको फाइदा भदौको २९ गतेबाट रिलिज भएका ‘नाङ्गो गाउँ' र 'एक भगवत् र एक गीता (सामाजिक कथा)'ले उठाउन सक्छन् । किनकी, बजारमा प्रतिस्पर्धा नहुँदा यी दुबै फिल्मले शोज पनि दोश्रो सातामा बढाउन सक्छन् । 

पहिलो साताको सुरुवाती पाँच दिनमा ‘नाङ्गो गाउँ’ले बम्पर व्यापार गर्यो । सुरुवाती चार  दिन दर्शकको चाप हलमा खासै नभएपनि ‘एक भागवत् र एक गीता’मा दर्शक विस्तारै बढिरहेका छन् । यसको फाइदा यो फिल्मले दोश्रो सातामा  उठाउन सक्छ ।

चाडपर्वको मौसम सुरु भएकाले पनि दर्शकहरुमा फिल्म हेर्ने मोह बढिरहेको छ । यसैले, आउँदा २ साता शुक्रबार रिलिज भएका दुई वटा फिल्मका लगि सुखद बन्न सक्छ ।