गति लिँदै एक भगवत् र एक गीता

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘एक भगवत् र एक गीता(सामाजिक कथा)’ले बक्सअफिसमा विस्तारै गति लिन थालेको छ । यो फिल्मसँगै प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले सुरुवाती दिनदेखि नै सफलता पाए पनि ‘एक भगवत् र एक गीता’ले सोचे अनुरुप दर्शकको साथ पाउन नसकेको हो कि भन्ने चासो थियो । 

तर आज मंगलबारबाट यो फिल्मले भने सोचेभन्दा दोब्बरले साथ पाउन थालेको छ । फिल्म हेर्नका लागि थिएटरमा टिकट बुकिङको अनुपात पनि बढेको छ । थिएटरको बुकिङ सिटलाई हेर्ने हो भने गएको तीन दिनभन्दा यता बुकिङको अनुपात निकै बढेको छ ।

राजधानीलगायतका विभिन्न हलको बुकिङ हेर्दा ठूलो संख्यामा बुकिङ भएको देख्न सकिन्छ । यही अनुरुपले फिल्मले भोलिको संविधान दिवसको सार्वजनिक बिदाको दिनलाई फाइदा उठाउन सकेमा र बाँकी रहेका दिनमा पनि यही अनुपातलाई बढाउदै लैजाने हो भने फिल्मले व्यापारमा पनि सफलता पाउनेछ ।

झरना थापा निर्देशित फिल्मले पारालैंगिक समुदायको कथालाई उठान गरेको छ । यसअघि प्रेमकथाको फिल्म बनाइरहेकी झरनाले यो फिल्मबाट एउटा समुदायको कथाको बुलन्द आवाज उठाउने प्रयास गरेकी छन् । झरनाले सामाजिक विषयवस्तुको कथामा फिल्म बनाएको सम्भवतः पहिलो नै हो । उनले आफूले गरिरहेको कामभन्दा फरक रुपमा प्रस्तुत भएकी झरनाले यो फिल्ममा त्यही फरकपन दिएकी छन् ।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा, अनुराग कुँवर, कबिर खड्का, बाल कलाकारद्वय जेभिन र जेभिस श्रेष्ठले अभिनय गरेका छन् ।