भदौमा सफलताः गतबर्ष ‘झिंगे दाउ’, यो बर्ष ‘नाङ्गो गाउँ’


भदौ महिनामा नेपाली फिल्म मेकरहरु आफ्नो फिल्म रिलिज गर्नका लागि तछाडमछाड गर्छन् । विशेषगरि, भदौ महिनामा केही बिदा पर्ने भएकाले पनि यो महिना आम फिल्मीकर्मीका लागि प्रिय छ । 

भदौ महिनामा आधा दर्जन बढी फिल्म रिलिज भएको पाइन्छ । तर, फिल्म सफलताको दर भने निकै कम छ । गतबर्ष पनि आधा दर्जन बढी फिल्म भदौ महिनामा रिलिज भएका थिए । तर, फिल्म ‘झिंगे दाउ’ले मात्र बक्स अफिसमा सफलताको झण्डा गाड्यो । 

यो बर्षको भदौ महिनामा ८ वटा फिल्म रिलिज भए । जसमध्ये यो महिनामा रिलिज भएका ७ वटा फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरे । केही फिल्मको व्यापार त लाख पनि कटेन । 

तर, भदौको २९ गतेबाट रिलिज भएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा सफलताको झण्डा गाडिरहेको छ । 

यो फिल्मले रिलिजको सुरुवाती दिनमै १ करोड ६० लाखको ग्रस कलेक्शन गरेको छ । आइतबार केही कम भएको व्यापारले सोमबारको बिदाको फाइदा उठाउँदै गति लियो । आज मंगलबार पनि बिहानैबाट फिल्मको व्यापार बलियो छ । भोली बुधबार पनि सार्वजनिक बिदा भएकाले फिल्मको व्यापार आक्रामक हुने अनुमान गर्न सकिन्छ ।

यसरीहेर्दा, एक सातामा यो फिल्मको व्यापार सुखद हुने देखिन्छ । यो बर्षको भदौ महिना नेपाली फिल्मका लागि खल्लो हुने हो कि भन्ने चिन्ता आम फिल्मीकर्मीले गरिरहँदा ‘नाङ्गो गाउँ’ले सुस्ताएको बजारमा फेरि आशा छरिदिएको छ ।