‘नेगेटिभ भूमिका’मा जम्न सक्छन् कविर खड्का


नायक कविर खड्कालाई भदौको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘एक भागवत् र एक गीता’ले नेगेटिभ भूमिकामा प्रस्तुत गर्यो । उसो त कविर नायक बन्नका लागि फिल्म क्षेत्रमा आएका हुन् । तर, उनले अभिनय गरेका फिल्महरुले बक्स अफिसमा गतिलो प्रदर्शन गरिरहेका छैनन् । 

तर, ‘एक भागवत् र एक गीता’ले भने उनलाई नेगेटिभ भूमिकामा स्थापित गर्न सक्छ । यो फिल्ममा उनले सशक्त रुपमा अभिनय गरेका छन् । 

नायकमा नजमेका कविरका लागि झरना थापा निर्देशित फिल्म करिअरको नयाँ मोड बन्ने देखिएको छ । कविर आफूले नेगेटिभ भूमिकामा भन्दा पनि आफूले पाएको चरित्र अनुसार काम गरेको बताउँछन् । अबका दिनमा नेगेटिभ भूमिकाका लागि अफर आएको खण्डमा काम गर्ने उनको भनाई छ । 

उसो त कविरले अभिनय गरेको फिल्म ‘गुञ्जन’ले बक्स अफिसमा खासै गतिलो व्यापार गरेन । तर, यो  फिल्ममा पनि कविरको नेगेटिभ भूमिका नै थियो । यो फिल्मबाट उनी खासै नोटिस भएनन् । तर, ‘एक भागवत् र एक गीता’ले भने उनलाई फिल्मीकर्मी र मिडियाकर्मीमाझ नोटिस गराइदिएको छ । 

कुनै समय फिल्ममा भिलेन भन्ने वित्तिकै शारिरिक बनावट फरक हुन्थ्यो । तर, विगत केही बर्षदेखि खलपात्रको परिभाषा फिल्ममा बदलिएको छ । यसैले, कविर जस्ता ह्यान्डसम कलाकारका लागि पनि नेगेटिभ भूमिका अब फिट हुन थालेको छ ।