‘पशुपति प्रसाद २’सँग सहमति गरेको ‘परदेशी २’लाई ‘कौसिद’को चुनौती


निर्देशक नारायण रायमाझीले आफू निर्देशित फिल्म ‘परदेशी २’लाई सोलो रिलिज गर्न निकै दौडधुप गरे । यसका लागि कहिले फिल्मको प्रदर्शन मिति सारियो भने कहिले अर्को फिल्मको टिमसँग वार्ता गरियो । गतबर्ष ‘फूलबारी’सँगको भिडन्त टार्न फिल्मको प्रदर्शन मिति सारियो ।

यो बर्ष दशैंमा ल्याउने पक्का भएको फिल्मलाई ‘पशुपति प्रसाद २ः भष्मे डन’ चुनौती बन्यो । अन्ततः फिल्मको टिमसँग वार्ता गरेर निर्देशक रायमाझी एक साता वर आए । उनले, फिल्मको प्रदर्शन मितिलाई असोज २६ गते तोके ।

यो मितिमा पहिले नै फिल्म ‘वानर सेना’ रिलिज गर्ने पक्का भएको थियो । फेरि, यो फिल्मसँग पनि वार्ता भयो । ‘वानर सेना’ एक साता अगाडि रिलिज हुने भयो । 

तर, सबै फिल्मसँगको भिडन्त टार्दा टार्दै अगाडि बढेको फिल्मको टिमको सोलो रिलिज गर्ने योजना पुरा नहुने भएको छ । यो मितिमा नायिका ऋचा शर्माले निर्माण गरेको फिल्म ‘कौसिद’ आउने भएको छ । भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहेको यो फिल्मको प्रदर्शन मिति पनि बारम्बार तोक्दै स्थगित गरिएको थियो । अन्ततः ‘परदेशी २’ टिमलाई ऋचाले टक्कर दिने पक्का भएको छ । यो फिल्मको सोमबार मात्र ट्रेलर सार्वजनिक गरिएको हो । 

‘परदेशी २’मा प्रकाश सपुत, केकी अधिकारी र वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् । यो फिल्मको हाइप बनाउन यसपटक निर्माणपक्षलाई निकै गाह्रो बनिरहेको छ । फिल्मको टिजर र गीतले पनि दर्शकको खासै साथ नपाएपछि निर्माणपक्षले नयाँ नयाँ तरिका अपनाएर प्रचार गरिरहेको छ ।