विपिनलाई अब ‘पशुपति प्रसाद २ः भष्मे डन’को भर


नायक विपिन कार्कीको अभिनयको फ्यान को छैन होला र ? हरेक फिल्ममा फरक फरक भूमिकामा अभिनय गर्न सक्ने विपिन फिल्मीकर्मीको रोजाइका नायक हुन् । विपिनले ‘हरि, प्रसाद वा एक भागवत् र एक गीता’ फिल्ममा गरेको अभिनयको फ्यान को नहोला र ?

तर, अभिनयमा विविधता अपनाउन माहिर विपिनलाई बक्स अफिसले भने धोका दिइरहेको छ । विपिनलाई ‘जात्रा र पशुपति प्रसाद’को ब्रान्डले नै जोगाइराखेको छ । 

यो बर्ष मात्र उनले अभिनय गरेका २ आशातित फिल्मले बक्स अफिसमा अपेक्षाकृत व्यापार गरेनन् । विपिनले अभिनय गरेको प्रतिक्षित फिल्म ‘प्रसाद २’ बक्स अफिसमा चिप्लियो । उसो त यो फिल्ममा उनको भन्दा कलाकार अर्पण थापाको भूमिकाले बढी चर्चा पायो । 

यसैबर्ष, सुनिलकुमार थापाको निर्माणमा झरना थापाले निर्देशन गरेको फिल्म ‘एक भागवत् र एक गीता’ले पनि विपिनलाई सन्तुष्टी दिन सकेन । यो फिल्ममा उनले तेश्रो लिङ्गीको भूमिका निर्वाहा गरेका थिए । फिल्मको फस्टलुक सार्वजनिक भएसँगै विपिनको गेटअपको चर्चा भयो । तर, दर्शकको ठूलो संख्याले बक्स अफिसमा टिकट काटेन । 

निर्माणपक्षले पनि फिल्ममा विपिनलाई नै केन्द्रमा राखेर प्रचार गरेको थियो । तर, विपिनका लागि यो फिल्मले दिन नसकेको खुशी दुखदायी छ । विपिनको अब फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ कार्तिक ४ गतेबाट रिलिज हुँदैछ ।

यो फिल्मको पहिलो भाग हिट भैसकेको छ । यही फिल्मको पहिलो भागबाट नै विपिनको ‘भष्मे डन’ पात्र स्थापित भएको थियो । यो फिल्मले भने बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा धेरैको छ । फिल्मको टिजरले पाएको चर्चाले पनि दर्शक यो फिल्मलाई लिएर प्रतिक्षित रहेको वुझ्न सकिन्छ । यो फिल्मको बक्स अफिसले विपिनलाई राहत दिन सक्छ ।