हातमा आधा दर्जन स्क्रिप्ट लिएर एक्सन देखाउँदै आँचल

अभिनेत्री आँचल शर्माको पाइपलाइनमा अहिले आधा दर्जन बढी फिल्म छन् । ‘पन्चामृत’, ‘ह्वाइट हाउस’ र ‘डिग्री माइला’ पछि उनले पाँच फिल्मको स्क्रिप्ट पढिरहेकी छन् । यही परिप्रेक्ष्यमा आँचलले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक्सन सिक्दै गरेको एक भिडियो पोस्ट गरिन् । भिडियो हेरिरहँदा उनी निकै आक्रामक किसिमले एक्सन देखाउन सक्छिन् भन्ने पुष्टि हुन्छ । फिल्म ‘डिग्री माइला’मा आँचल अभिनेता दयाहाङ राईसँग सहकार्य गर्ने कुराले पनि चर्चामा छिन् ।

मेरो फिल्मसँगको संक्षिप्त कुराकानीमा उनले भनिन्, 'राम्रो अभिनय गर्ने र दर्शकले रुचाएको कलाकारसँग सँगै काम गर्न पाउनु नै मेरो लागि अहोभाग्य हो । उहाँसँग त धेरैले काम गर्ने मौकाको खोजीमा हुनुहुन्छ । मलाई सुनौलो अवसर प्राप्त भयो ।'

दयासँग काम गर्न पाएको अवसरबाट आँचल निकै उत्साहित रहेको बुझ्न सकिन्छ ।

आँचलले आफूलाई अब्बल बनाउन शारीरिक रुपमा पनि धेरै मेहनत गरिरहेकी छन् । उनले केही समयअघि सार्वजनिक भएको फिल्म ‘पशुपति प्रसाद: भष्मे डन २’को गीतमा देखाएको शारीरिक परिवर्तनले पनि उनले शारीरिक रुपमा मेहनत गरिरहेको बुझ्न सकिन्छ । 

आँचल के साँच्चै नै फिल्मका लागि एक्सन सिकिरहेकी छन् त ? कुनै समय अभिनेत्री रेखा थापा एक्सन लेडीका रुपमा फिल्ममा चिनिन्थिन् । तर पछिल्लो समयमा नेपाली फिल्ममा एक्सन लेडीको उपस्थिति कम देखिएको छ ।

एक्सन लेडीको अभाव भइरहँदा यही विषयमा र तपाईँसँग अन्य पाँचवटा फिल्मको स्कृप्ट हातमा रहँदा त्यसमध्ये कुनैको लागि हो ? भनेर हामीले आँचललाई सोध्दा आँचलले आफूले फिल्म विशेष तयारी नगरी यो नियमित अभ्यास भएको बताइन् ।

‘एक्सनको कुरा गर्दा नेपाली फिल्ममा रेखा दिदीहरुको छुट्टै छाप छ । त्यो छापलाई कसैले नतोड्न सक्लान् । तर नयाँ पनि एक्सन गर्न सक्छु है भन्ने आँट हुनुपर्छ । त्यसका लागि पनि हो र अहिले नै मलाई एक्सन फिल्मको अफर त आएको छैन । तर भोलिका दिनमा तपाईंले एक्सन गर्नुपर्यो भनेर कसैले भन्नुभयो भने त्यसका लागि अहिले नै तयारी गरिरहेको हुँ’, आँचलले भनिन् । उनले आफूले जिम्न्यास्टिक, फ्लाइङ किक, बटरफ्लाइ किकलगायतका एक्सनको तरिका सिकिरहेको बताइन् । 

उनका अन्य कुन कुन फिल्म छन् त्यस विषयमा भने कुनै कुरा खुलाउन चाँहिनन् । उनले भनिन् ‘मैले स्क्रिप्ट पढिरहेको छु तर अहिले यो हो भनेर भन्ने अवस्था छैन किनभने म स्क्रिप्ट हेर्दै मात्रै छु काम गर्ने र नगर्ने कुरा निर्माण टिमसँग छलफल गरेपछि न हो थाहा हुने’, उनी भन्छिन्, ‘मलाई सुहाउने खालको रोल छ वा छैन । मैले निर्माण टिमसँग सम्झौता नभएसम्म कसरी भन्ने ?’