'एक भगवत् र एक गीता'को परीक्षामा झरना
एकै शैलीको प्रश्नको उत्तर लेख्न वा दिन परीक्षार्थीलाई खासै ठूलो कुरा होइन । तर प्रश्नकै शैली फरक परिदियो भने परीक्षार्थीका लागि त्यो निकै सकसपूर्ण र चुनौतीपूर्ण हुन्छ । अभिनेत्री टर्न निर्देशक झरना थापा आजबाट रिलिज उनको निर्देशकीय फिल्म ‘एक भगवत् र एक गीता(सामाजिक कथा)’मा त्यस्तै परीक्षाको सामना गर्दैछिन् ।
एक समय नेपाली फिल्म वृत्तमा व्यस्त र लोकप्रिय अभिनेत्रीको ट्याग पाएकी झरनाले फिल्म ‘ए मेरो हजुर २’बाट निर्देशकीय यात्रा सुरु गरिन् । सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमुख भूमिकामा अभिनय रहेको यो फिल्म बक्सअफिसमा सुपरहिट भयो । निर्देशकीय ‘डेब्यू’ फिल्मबाटै सफलताको स्वाद चाखेकी झरनाले ‘ए मेरो हजुर ३’मार्फत छोरी सुहानालाई डेब्यू गराउँदै अर्को सुपरहिटलाई चुम्न पाइन् । यो फिल्ममा सुहानाले अभिनेता अनमोल केसीसँग स्क्रिन शेयर गरेकी थिइन् ।
अनमोल र सुहानाकै अभिनय रहेको फिल्म ‘ए मेरो हजुर ४’ले बक्सअफिसमा औषत व्यापार गर्यो । फिल्मले नेपालबाट लगानी उठाए पनि ओभरसिज राइट र युट्युब राइटबाट नाफा कमायो । यी तीन फिल्म रोमान्टिक फ्लेभरमा थिए । त्यहीकारण पनि झरनालाई प्रमुख पात्रलाई रोमान्समा डुबाउन सजिलो थियो ।
तर ‘एक भगवत् एक गीता(सामाजिक कथा)’ यी तीन फिल्मभन्दा पृथक छ । फरक लोकेसन, फरक कथावस्तु, फरक पात्रले पनि झरनालाई अघिल्ला फिल्मभन्दा केही चुनौती थियो । जुन कुरा उनी स्वीकार्छिन् ।
‘काम गर्ने तरिका फरक थियो । किनकी कथावस्तु पनि फरक भएकाले केही असहज त भयो नै । रोमान्टिक फ्लेभरको फिल्म बनाइरहँदा पहिलोपटक विषयप्रधान फिल्म बनाएकी छु । त्यसकारण केही चुनौती त पक्कै पनि थियो’, झरना भन्छिन्, ‘तर टिमवर्क मिलेपछि काम गर्न सजिलो भयो ।’
फिल्मको नाम ‘एक भगवत् गीता’मा धार्मिक संगठनका व्यक्तिहरु ले आपत्ति जनाएपछि विरोध नै भएको थियो । फिल्मको नाम धार्मिक भए पनि कथावस्तु अन्तरजातीय प्रेमकथा भएको भन्दै आपत्ति जनाएका थिए । विरोधपछि चलचित्र विकास बोर्डले सेन्सरको लागि सिफारिस नै नगर्दा फिल्म वृत्तमा बोर्डको चर्को आलोचना भएको थियो । तर फिल्मको नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ राख्ने सहमति भएपछि फिल्मले सेन्सर अनुमति पाएको थियो । नाम फेरिए पनि झरना नामबाट सन्तुष्टै छिन् । ‘किनकी हामी शीर्षकबाट बाहिर निस्कनु परेन’, उनी भन्छिन् ।
झरनाका अनुसार फिल्मलाई लिएर विरोध शुरु भएपछि उनले भगवान निकै पुकारिन् । ‘म हरेक दिन भगवान सम्झन्छु, तर फिल्मलाई लिएर विवाद बढेपछि भगवान सम्झिने मात्रा धेरै बढेको थियो’, झरनाले भनिन् ।
फिल्ममा अभिनेता विपिन कार्की ‘कमलामाई’ नामक पारालैंगिक चरित्रमा देखिएका छन् । हरेक फिल्ममा फरक फरक स्वरुपमा प्रस्तुत हुने विपिनको ‘कमलामाई’ चरित्र’ फिल्मवृत्तले चासोपूर्वक हेरेको छ ।
झरनाको अनुभवमा विपिनलाई ‘कमलामाई’ चरित्र ढाल्नु अर्को चुनौतीपूर्ण काम थियो । ‘हरेक फिल्ममा हामीले विपिनलाई फरक रुपमा देखेका छौं । कमलामाई बन्नकै लागि उसले जनकपुरमा पारालैंगिक समुदायसँग झण्डै दुई महिना बसेको छ । मेरा लागि यो फिल्म जति चुनौतीपूर्ण थियो, विपिनका लागि पनि त्यस्तै थियो’, झरना सम्झिन्छिन् ।
अघिल्ला तीन फिल्मको परीक्षामा राम्रो अंक ल्याएकी झरना ‘एक भगवत् र एक गीता(सामाजिक कथा)’बाट पनि राम्रो अंक आउनेमा आशावादी छिन् । तिज र संविधान दिवस आउँदो साता परेकाले पनि फिल्मले त्यो विदालाई राम्रो सदुपयोग गर्नेमा उनी ढुक्क छिन् ।
प्रतिक्रिया