छोराले उपचार नपाएपछि ऋचाको आक्रोशः चिकित्सालय स्वास्थ्य भन्दा पैसा कमाउने भाँडो

अभिनेत्री ऋचा शर्माले नेपालको स्वास्थ्य अवस्थामा प्रति आक्रोश पोखेकी छन् । खास गरी स्वास्थ्य उपचारका लागि खोलिएका स्वास्थ्य संस्थाहरूको व्यवहारप्रति उनले आक्रोश पोखेकी हुन् ।

ऋचाले छोरा आभ्यानको लडेर टाउकोमा चोट लागेपछि उपचारका लागि चण्डोलस्थित कोपिला क्लिनिकमा पुग्दा त्यहाँका कर्मचारीले आफूप्रति गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । हिजो घटेको घटनालाई लिएर उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी हुन् ।

‘आज बिहान ११ः३० मा छोरा आभ्यानको प्रि–स्कूल बाट आभ्यान मेचबाट लडेर टाउकोमा चोट लागेको र टुटुलको आएको छ भनेर फोन आएपछि म केहि मिनेटमै त्यहाँ पुगे। म त्यहाँ पुग्दा छोरा दुखेर रोईरहेको देखेपछि मैले स्कूलको प्रधानाध्यापिकासँग मिलेर त्यहाँबाट मात्र दुई घर पर चन्डोलस्थित कोपिला क्लिनिक लिएर गएँ। त्यहाँ पुग्ने बित्तिकै रिसेप्सनमा मैले इमरजेन्सीमा डाक्टर बोलाइदिनुस मेरो बच्चालाई चोट लागेको छ भन्दा, ‘हुन्छ तर पहिला मेम्बरशिप रजिस्ट्रेशन गराउनुहोस किनकी यो तपाईको पहिलो चोटी हो। रेजिस्ट्रेशन शुल्क ४८०० र थप डाक्टर जाँच शुल्क’ भन्ने जवाफ पाएँ। मैले ‘म त्यो सब गरुँला पहिला डाक्टर बोलाइदिनुस’ भन्दा फेरी ‘पहिला रेजिस्ट्रेशन गर्नुस्’ भन्दा मलाई त्यो व्यवहार देखी घिन नै लागेर आयो’, उनले लेखेकी छन् ।

ऋचा अगाडि लेख्छिन्, ‘र मैले मेरो बच्चालाई लिएर तुरुन्त उसलाई देखाइरहेको डाक्टरका लगे । कुरा ४५०० को थिएन । कुरा एउटा बच्चाको चिकित्सालय जस्तो ठाउँ, त्यो पनि निजी सुविधा विश्वास दिलाउने ठाउँमा चिकित्सालयलाई एउटा बच्चाको स्वास्थ्य भन्दा पैसा कमाउने भाँडो बनाउने दुःखद दुष्प्रयासको थियो। कुरा चोट कत्तिको थियो होइन, कुरा कुनै पनि बिरामीले पाउनुपर्ने आकस्मिक र आपातकालीन अवस्थामा मेडिकल सुविधाको थियो। म बोल्दैछु किनकी कति आमा र बिरामीको परिवारहरुले त कस्तो विपत आईपर्दा पनि बोल्ने ठाउँ सम्म पाउदैनन। आज एउटा नायिका होइन, एउटा आमाको गुनासो हो र एउटा सचेत नागरिकको।’