प्रचारमा बेवास्था गरेको आरोप लागेपछि ‘नाङ्गो गाउँ’को प्रिमियरमा पुगिन् साम्राज्ञी

फिल्म ‘नाङ्गो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको महत्वपूर्ण भूमिका छ । यो फिल्ममा साम्राज्ञीको केमियो भूमिका हो कि भन्ने खालका अड्कलबाजी चलिरहेको थियो । तर, बुधबार फिल्मको प्रिमियर भएपछि यसको जवाफ मिडियाकर्मीले पाएका छन् । 

तर, फिल्मको प्रचारमा साम्राज्ञी टाढा बसिन् । उनले, मिडियासँग कुराकानी गर्न नै चाहिनन् । उनै, साम्राज्ञीलाई फिल्मको प्रचारमा वेवास्था गरेको आरोप लाग्यो । 

वेवास्था गरेको आरोप लागेपछि नायिका शाह बुधबार आयोजित फिल्मको प्रिमियर कार्यक्रममा भने पुगेकी छिन् । फिल्म सुरु भएको केही मिनेटपछि मात्र हलमा पुगेकी साम्राज्ञीले मिडियासँग कुरा गर्दै आफू नेपाल बाहिर रहेकाले फिल्मको प्रचारमा देखिन नपाएको बताइन् । उनले भनिन्–‘म मेरो व्यक्तिगत काममा नै व्यस्त थिएँ । म भारतमा थिएँ । यसैले, फिल्मको प्रचारमा आउन पाइनँ । फिल्मको टिमसँग सम्बन्ध विग्रिएको छैन ।’

साम्राज्ञीले निकै राम्रो टिमसँग फिल्ममा काम गर्न पाउँदा खुशी लागेको तर्क गरिन् । उनले, नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडीको पनि तारिफ गरिन् । 

भोलीदेखि रिलिजमा आउन लागेको यो फिल्मले प्रिमियरमा राम्रो तारिफ कमाएको छ ।