नाङ्गो गाउँः उत्तरको प्रतिक्षामा निर्देशक दीपेन्द्र
पत्रकार टर्न निर्देशक दीपेन्द्र लामाले एक समय मनोरञ्जन पत्रकारितामा लामो समय बिताए । फिल्म सम्बन्धी रिपोर्टिङ होस् या समीक्षा, उनको लेखन बेजोड थियो । फिल्म हेरिसकेपछि दीपेन्द्रले कस्तो समीक्षा लेख्लान् ? भन्ने चासो र प्रतीक्षा फिल्मकर्मीमा व्यग्र हुन्थ्यो ।
तर अहिले दीपेन्द्रको पहिचान फेरिएको छ । अहिले उनी फिल्म निर्देशक भइसकेका छन् । आफ्नो फिल्मको समीक्षा, समाचार, गसिप के कस्तो आयो भनेर चासो राखिरहन्छन् ।
दीपेन्द्रले फिल्म ‘घामपानी’बाट निर्देशनमा पाइला चाले । यो फिल्मले बक्सअफिसमा राम्रै व्यापार गर्यो । समीक्षात्मक रुपमा पनि फिल्मले तारिफ पायो । उनको दोस्रो फिल्म ‘गोपी’ औषत साबित भयो । तेस्रो फिल्म ‘छ माया छपक्कै’ बक्सअफिसमा सुपरहिट हुँदा ‘दुई नम्बरी’ हिट भयो ।
अहिले सबैको ध्यान यही शुक्रबारबाट रिलिज हुने उनी निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ तिर छ । निर्देशकीय हिसाबले यो दीपेन्द्रको पाँचौं फिल्म हो । फिल्म ‘छ माया छपक्कै’मा पानीको राजनीतिलाई उठान गरेका दीपेन्द्रले ‘नाङ्गो गाउँ’मा चाहिँ चुनावी राजनीतिलाई विषयवस्तु बनाएका छन् ।
दीपेन्द्रको भनाइमा ‘नाङ्गो गाउँ’ले जनतालाई प्रश्न गर्छ । ‘राजनीति भन्नासाथ नेतालाई प्रश्न उठाउने भन्ने बुझ्छौँ । किनकी राजनीतिमा प्रत्यक्ष जोडिने नेतृत्व नै हुन् । जनता नेता गलत भए भनेर गाली गर्छन । तर ती नेता पठाउने त जनता हुन्’, दीपेन्द्र प्रश्न गर्छन्, ‘राम्रो नेता चुनेर पठाउने दायित्व जनतामा हुँदैन र ? त्यसकारण फिल्ममा इमान्दारिता नेता र जनता दुवैमा चाहिन्छ भन्ने कुरालाई उठान गरेको छु ।’
राजनीतिलाई दीपेन्द्रले नियालिरहन्छन् । त्यही भएर पनि उनी राजनीतिका देखिएका र नदेखिएका कुराबारे चासो राख्छन् । ‘राजनीतिक प्रति मेरो रुची छ । म अहिलेसम्म हरेक पटकको चुनावमा मतदान गर्न घर पुगेकै हुन्छु । अस्तीको निर्वाचनमा पनि स्पलेन्डर बाइक चढेरै मतदान गर्न पुगें’, दीपेन्द्र भन्छन्, ‘त्यही चासोका कारण मैले ‘नाङ्गो गाउँ’लाई राजनीतिक विषयसँग जोडें ।’
दीपेन्द्र आफू कुनै दलप्रति आस्थावान् नभइ केवल तटस्थ मान्छन् । त्यहीकारण उनी राजनीतिका कुरा गर्दा खुलेर सकारात्मक र नकारात्मक दुवै पाटोको समीक्षा गर्छन् ।
यो फिल्मका लेखक दीपेन्द्र नै हुन् । त्यसकारण पनि फिल्मको कथावस्तुमा जनतालाई प्रश्न सोध्न उनलाई पक्कै सजिलो भएको छ । किनकी राजनीतिक गतिविधिबारे उनी जानकार पनि छन् । तर उनको प्रश्नलाई जनताले अथवा भनौँ दर्शकले सही ढंगले बुझ्छन् या बुझ्दैनन् । फिल्ममा उनले जनतालाई सोधेका प्रश्नको उत्तर पाउँछन् या पाउँदैनन् । त्यो थाहा पाउन रिलिज पछि दर्शकको प्रतिक्रिया र बक्सअफिसको माहौललाई पर्खनै पर्ने हुन्छ ।
फिल्म ‘नाङ्गो गाउँ’मा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, बुद्धि तामाङ, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, रविन्द्र झालगायतको अभिनय छ ।
प्रतिक्रिया