एक सातामा दयाको ३ फिल्मको सेड्यूल

नायक दयाहाङ राइ क्यानडा पुगेर नेपाल फर्किए । क्यानडामा आयोजित एक फिल्म महोत्सवमा उनी अभिनित फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियर भयो । यो फिल्मको प्रिमियरमा सहभागी भएर नेपाल आए लगतै दया शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’को प्रिमियरमा सहभागी हुँदैछन् ।

आज बेलुकी आयोजित प्रिमियरमा सहभागी भएपछि दया भोलीबाट रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘डिग्री माइला’को छायांकनमा व्यस्त हुनेछन् । यो फिल्मको एक साता छायांकन गरेपछि दयाले मंगलबारबाट सुरु भएको फिल्म ‘रंगोली’मा आफूलाई व्यस्त बनाउनेछन् । 

यसरीहेर्दा, दया एक सातामा ३ वटा फिल्मको सेड्यूलमा व्यस्त हुने देखिएको छ । दयासँग आफैले अभिनय गरेको फिल्मको प्रचारका लागि एक हप्ता पनि समय छैन । उनी एकपछि अर्को फिल्मको छायांकनमा व्यस्त हुँदैछन् । 

दया अभिनित ‘दिमाग खराब’ कार्तिक २४ गतेबाट रिलिज हुँदैछ । उनले फिल्म ‘हात्तीछाप’को छायांकन केही हप्ता मात्र सकाएका छन् । उनी अभिनित ‘रंगोली’ले फागुण २५ र ‘डिग्री माइला’ले नयाँ बर्षमा प्रदर्शन मिति तय गरिसकेका छन् । 

यसरीहेर्दा, अहिले दयालाई निर्माताले तानातान गरिरहेका छन् । उनलाई, फिल्मको लागि समय मिलाउन नै धौ धौ परिरहेको छ ।