निर्देशक बने सुशिलको फ्यान, अनि यस्तो भयो ?

भाद्र १ गते र १४ गते अभिनेता सुशील सिटौलाका दुई फिल्म रिलिज भए ।

यी दुवै फिल्मबाट यदि कसैले गतिलो चर्चा पायो भने सुशीलले पाए । उनले यसरी चर्चा पाएको पहिलो पटक होइन, डेब्यू फिल्म 'होस्टल रिटन्स' रिलिज हुँदा पनि उनले प्रभावशाली काम गरेको भन्दै चर्चा बटुल्न सफल भएका थिए भने उनले त्यसयता रिलिज भएका प्रायः सबै फिल्मबाट अभिनयका लागि तारिफ नै बटुलेका छन् । 

'गाजाबाजा', 'रणवीर', 'लाखे' आदि फिल्म यो सूचीमा छन् । अभिनयमा तारिफ बटुले पनि उनी ठुला ब्यानरको नजरमा परेका छैनन् तर उनको अभिनय कर्मले उनको क्षमतालाई त्यसतर्फ कदमकदम गरेर  डोर्याइरहेको छ ।

अब उनको क्षमताले राम्रो चर्चासँगै प्रभाव देखाउन थालेको संकेत मिलेको छ । 

उनको अभिनय कुशलताले लोभिएर निर्देशक दिवाकर भट्टराईले आफ्नो आगामी फिल्म 'मायावी'मा उनलाई अनुबन्धित गरेका छन् । सुशीललाई फिल्ममा अनुबन्धित गरेको खुसी निर्देशक भट्टराईले आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।

'सायद म कसैको पहिलो फ्यान भएको हो र तपाईँसँग सहकार्य गर्न पाउँदा मनदेखि खुसी छु, यो विश्वास र मायाले अझ केही गर्ने ऊर्जा थपिएको छ । थ्याकं यू सो मच सुशील सिटौला', भट्टराईले लेखेका छन् ।

मेरो फिल्मसँग कुरा गर्दै भट्टराईले आफू सुशीलले 'जुलेबी'मा गरेको कामबाट धेरै प्रभावित भएको बताए ।

'जुलेबीबाट हो म धेरै प्रभावित भएको हो । त्यो फिल्ममा उसले भयकंर नै काम गर्या हो अनि  'ऐँचो पैँचो'मा पनि राम्रो काम गरेको छ', उनले भने । 

त्यस्तै उनले आफू फिल्मका लागि राम्रो कलाकारको खोजीमा रहेको र सुशीलको काम हेरेपछि काम गर्न मन भएको भनाइ राखे ।

'हेरेपछि अझ काम गर्ने मन भयो', उनले थपे । सुशीललाई राम्रो कलाकार मानिन्छ, यद्यपि उनका फिल्मले सोचेजस्तो सफलता पाइरहेका छैनन् । यही कारण उनी अन्य कलाकार भन्दा क्षमता भइकन पनि पछि परेका कलाकार मानिन्छन् । 

यस्तो काम हेरेरै निर्देशकलाई फ्यान बनाएर काम गर्ने इच्छा जगाउनु एउटा कलाकारका लागि ठुलो सफलता हो । सुशीलको क्षमता अझ बढीभन्दा बढी नेपाली दर्शकमा उजागर हुन उनलाई ठुला ब्यानरहरूको  खाँचो रहेको छ । 'जुलेबी' र 'ऐँचो पैँचो' गरेपछि उनीमाथि धेरै मेकरको आँखा परेको छ ।

मेकरहरुले मौका दिएमा सुशील त्यसलाई प्रमाणित गर्न पछि नपर्ने कलाकार हुन्। उनले काम गरेका पछिल्ला फिल्मले यस वर्ष अवार्डहरूमा अन्य अभिनेताहरूलाई दह्रो टक्कर दिने सहज अनुमान गर्न सकिन्छ । 

हालसम्म रिलिज भएका फिल्महरूलाई हेर्ने हो भने उत्कृष्ट सह-अभिनेताको विधामा उनी सबैभन्दा अगाडि रहेका छन् । यी दुई फिल्मको काम हेरेपछि मेकरहरुले उनलाई सोचेर भूमिका लेख्ने लख काट्न सकिन्छ ।