४ दिनमै ५ सय करोड क्लबमा साहरुखको ‘जवान’

बलिउड नायक साहरुख खान अभिनीत पछिल्लो फिल्म ‘जवान’ले बक्स अफिसमा यसअघिका सबै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ । साहरुख आफैले फिल्म ‘पठान’बाट बनाएको रेकर्डलाई ‘जवान’ले तोडेको हो । 

यो फिल्मले ४ दिनमै भारतीय बक्स अफिसमा साढे २ सय करोड कमाएको छ । फिल्मले बिहिबार हिन्दी भाषामा मात्र ६५.५० करोड, शुक्रबार ४६.२३ करोड, शनिबार ६८.७२ करोड र आइतबार ७१.६३ करोडको व्यापार गर्दै ४ दिनमा २५२.०८ करोड नेट कलेक्शन गरेको छ । ‘जवान’ले ४ दिन नै विश्व बक्स अफिसमा हरेक दिन सय करोड माथिको ग्रस कलेक्शन गर्ने पहिलो फिल्मको रेकर्ड समेत बनाएको छ । 

फिल्मले आइतबार ७१.६३ करोडको कमाई गर्दै एकै दिनमा सर्वाधिक धेरै कमाई गर्ने फिल्मको रेकर्ड पनि बनाएको छ । 

यस्तै, फिल्मले तेलुगु र तमिल भाषामा ४ दिनमा ३४ करोडको व्यापार गरेको छ । यो पनि कुनै बलिउड फिल्मले डब भाषामा बनाएको नयाँ रेकर्ड हो । योसँगै यो फिल्मले भारतीय बक्स अफिसमा ४ दिनमा २ सय ८६ करोडको नेट कलेक्शन गरेको छ । 

यो फिल्मले ४  दिनमा विश्व बजारबाट ५२० करोडको ग्रस कलेक्शन गर्दै सर्वाधिक चाडो ५ सय करोड क्लबमा प्रवेश गर्ने फिल्मको रेकर्ड बनाएको हो । 

बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको फिल्मले आज भारतीय बक्स अफिसमा सर्वाधिक चाडो ३ सय करोड कमाउने फिल्मको रेकर्ड समेत राख्नेछ । 

एट्लीको निर्देशनमा तयार भएको यो फिल्ममा साहरुख खान, नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण, संजय दत्त लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मले भारतीय बक्स अफिसमा ‘पठान’ले बनाएको ५ सय २५ करोडको लाइफ टाइम कलेक्शनलाई तोड्ने अपेक्षा गरिएको छ ।