बर्षको दोश्रो हिट फिल्मको खोजी
नेपाली बक्स अफिसले यो बर्षको दोश्रो हिट फिल्मको खोजी गरिरहेको छ । वैशाख १ गते रिलिज भएको फिल्म ‘जारी’पछि कुनै पनि फिल्मले हलबाट लगानी उठाउन नसकिरहेको अवस्थामा आम फिल्मीकर्मीले दोश्रो हिट फिल्मको खोजी गरिरहेका छन् ।
भदौ महिनामा पनि अहिलेसम्म नेपाली फिल्मले हिट फिल्म पाएको छैन । यसैले, भदौ महिना पनि यसै खेर जाने हो कि भन्ने भय फिल्मकर्मीमा छ । भदौ २९ गतेबाट रिलिज हुन लागेका २ फिल्म ‘नाङ्गो गाउँ र एक भागवत् र एक गीता’ले बक्स अफिसमा सफलताको झण्डा गाड्ने अपेक्षा छ । के यी दुई फिल्मले बक्स अफिसमा दोश्रो हिट फिल्मको पहिचान बनाउलान् त, आशा धेरैको छ ।
असोज महिनामा रिलिज हुन लागेको फिल्म ‘परदेशी २’ पनि व्यवसायिक रुपमा सफल हुने संभावना बोकेको फिल्म हो । तर, धेरैको ध्यान भने ‘पशुपति प्रसाद २ः भष्मे डन’को व्यवसाय माथि धेरै अड्किएको छ । यो फिल्मले कार्तिक ४ गतेबाट बक्स अफिसमा धुम मच्चाउने संभावना छ । यस्तै, निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’, सिमोस सुनुवारको फिल्म ‘हात्तीछाप’बाट पनि फिल्मीकर्मीको आशा बढी छ ।
नेपाली फिल्म क्षेत्रमा यी बाहेक अरु केही फिल्म पनि छन्, जसले बक्स अफिसमा राम्रो कमाई गर्न सक्छन् । तर, यो बर्षको दोश्रो हिट फिल्म कुन बन्ला, सबैको ध्यान यसमा जोडिएको छ । के भदौ २९ गतेका २ फिल्मले फिल्मीकर्मीको अनुहारमा खुशी छर्न सक्लान् ? या अझै केही हप्ता पर्खिनुपर्ने हो, प्रतिक्षा गरौं ।
प्रतिक्रिया